काठमाडौं,१८ माघ : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकले सहज रुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी काम गर्न मन्त्रालय र मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
शुत्रक्रबार खानेपानी मन्त्रालयमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसंगको छलफल तथा बैठकमा मन्त्री यादवले काठमाडौं उपत्यकामा सहज रुपमा खानेपानी बितरण, लिकेज भएका पाइपलाइन मर्मत, खानेपानीका मिटर वितरण गर्ने लगायतका काम छिटोछरितो गर्न आग्रह गरे ।उनले भने, “खानेपानीका लिकेज भएका पाइप लाईन चाडो मर्मत गर्नुहोला, नागरिकले खानेपानीका मिटर नपाएको गुनासो गर्दै आएका छन् । मिटरहरुको चाडो व्यवस्था गर्न मेरो आग्रह छ ।”
खानेपानी मन्त्रालय , काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को अभिभावक भएकाले केयुकेएललाई सहज रुपमा पानी वितरण गर्ने कार्यमा मन्त्रालयले पूर्ण साथ र सहयोग गर्दै आएको र आगामी दिनमा पनि सम्पूर्ण सहयोग गर्ने मन्त्री यादवको भनाई थियो ।“नागरिकलाई अत्यावश्यक पर्ने खानेपानी बितरणमा कुनै कसर बाँकी नराखौँ, काठमाडौँका नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी बितरणदेखि खानेपानी मिटर, लिकेज भएका पानीका पाइपलाइनहरु मर्मत गरी निरन्तर सेवा प्रदान गरौँ ।” उनले भने ।
मन्त्री यादवले प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनबीच आपसी मेलमिलापमा रहेर नागरिकलाई खानेपानी खुवाउने कार्यलाई निरन्तरता दिन समेत आग्रह गरे । बैठकमा मन्त्रालयकी सचिव प्रमिलादेबी शाक्य बज्रचार्यले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले यहाँका नागरिकलाई खानेपानी बितरणको कार्य गर्दै आइरहेको र अबका दिनमा पनि उक्त कार्यलाई थप अघि बढाउँदै पानी लिकेज भएका ठाउँमा चाडो मर्मत गर्नु पर्ने धारणा राखिन् ।
काठमाडांँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले काठमाडौँ उपत्यकामा खानेपानी बितरण लगायतका विभिन्न कामहरु भइरहेका र गत असोज ११ गतेको बाढीका कारण कतिपय ठाउँका खानेपानीका मुहानहरु बाढीले बगाएकाले समस्या उत्पन्न भएको बताए ।
बैठकमा खानेपानी मन्त्रालयका सहसचिव मिना श्रेष्ठ, रमाकान्त दुवाडी, केयुकेएल कर्मचारी ट्रेड युनियनका कर्मचारी लगायतकाको पनि सहभागिता रहेको थियो ।

