काठमाडौं,२१पुसःगृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्साको वीरगन्जमा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पु¥याउने घटनामा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
सोमबार गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगहरूका कार्यवाहक अध्यक्षहरू, सचिव, तथा पदाधिकारीहरूसंग गरिएको सामूहिक छलफलमा गृहमन्त्री अर्यालले सबै पक्षसँग तत्काल सद्भाव र सह–अस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गरेका हुन् ।
गृह प्रशासन र संघीय सरकारको तहबाट गर्नुपर्ने सबै खालका सुरक्षाको पूर्वतयारी र सजगता अपनाइएको भन्दै गृहमन्त्री अर्यालले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकोले यस घटनालाई निस्तेज गर्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
मधेस प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेका साम्प्रदायिकता संयमता, सजगता र सह–अस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न उनले आग्रह गरे । यस्तै, मन्त्री अर्यालले यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारहरूले पनि समन्वयात्मक भूमिका खेलिदिएर अवस्थालाई सामान्यीकरण गर्न ठूलो भूमिका रहने बताए ।

