वीरगन्ज,१२ जेठः पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य (सांसद) टेक बहादुर शाक्यले इलाका प्रशासन कार्यालय सुपौलीमा देखिएको अव्यवस्था र सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर चासो व्यक्त गर्दै आकस्मिक अनुगमन गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र जगरनाथपुरदेखि ठोरीसम्मका नागरिकहरूले कार्यालयमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने, कर्मचारी समयमै उपस्थित नहुने तथा सेवा प्रवाह प्रभावकारी नभएको भन्दै लगातार जनगुनासो आएपछि शाक्यले सोमबार कार्यालयमा आकस्मिक अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरुले कार्यालय अस्तव्यस्त रहेको, घाममा लामो समयसम्म लाइनमा बस्न बाध्य हुनुपरेको , कर्मचारीहरुको अभाव रहेको लगायतका गुनासो सांसद शाक्यलाई सुनाएका थिए ।
अनुगमनकै क्रममा सांसद शाक्यले कार्यालय प्रमुखसँग छलफल गर्दै कर्मचारी अभाव तथा कार्यरत कर्मचारीबाट भइरहेको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण गराए ।उनले अब उपरान्त सेवाग्राही नागरिकले सहज र प्रभावकारी रूपमा सेवा पाउने वातावरण सृजना गर्न निर्देशनपनि दिए ।

