वीरगन्ज,१६माघ:भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा बुधबार बिहान भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ।
बिहान १.३० बजेतिर माैनी अमावाश्या स्नानका लागि भक्तजनहरु संगम किनारमा जम्मा भइरहेका बेला अचानक भागदाैड मच्चिदा त्यसमा च्यापिएर अहिलेसम्म मृत्युु हुनेकाे संख्या ३० पुगेकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथले पुष्टि गरेका छन्।उनका अनुसार भागदाैडमा परेर ६० जना भन्दा बढी घाइते भएका छन् ।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथले मृतकका परिवारलाई जनही २५ लाख भारु दिने घाेषणा गरेका छन्।घटनाकाे छानबिनका लागि ३ सदस्यीय उच्च न्यायिक छानबिन आयाेग गठन गरिएको उनले बताएका छन्।
जनवरी १३ तारिखदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी भएको अनुमान गरिएको थियो ।