वीरगन्ज,१माघ: जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त मंगलबारदेखि सुरु हुँदैछ । तीन दिवसीय फरम्याटमा हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।
दुई विभागीय टिमको उपाधि भिडन्त वीरगन्जको नारायणी क्रिकेट मैदानमा हुनेछ । मौसम सफा नभएका कारण खेल निर्धारित समयभन्दा केही ढिला सुरु हुनेछ । बाक्लो हुस्सुका कारण टस समेत हुन सकेको छैन ।
मौसम सफा भएलगत्तै दुई टिमबीचको खेल सुरु हुनेछ । समूह चरणको खेलमा शिर्ष दुई स्थानमा रहेका पुलिस र आर्मी प्रतियोगिताको फाइनल खेल्न लागेका हुन् । समूह चरणमा समान तीन खेलमा पुलिसले ६६ र आर्मीले ५५ अंक बटुलेको थियो ।
प्रतियोगितामा सहभागी अन्य टोलीमध्ये तेस्रो स्थानमा रहेको बागमतीले ४१.५ र पुछारमा रहेको मधेस प्रदेशले ३१ अंक पाएको थियो । समूह चरणको खेलमा पुलिसले दुई खेल जितेको थियो भने एकमा बराबरी भएको थियो । आर्मीले भने एकमा जित हात पारेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो ।
समूह चरणको पहिलो खेलमा आर्मीसंग बराबरी खेलेको पुलिसले दोस्रो खेलमा मधेसलाई एक इनिङ र ३५ रन पराजित गरेको थियो भने तेस्रो खेलमा बागमतीमाथि पाँच विकेटको जित हात पारेको थियो । आर्मीले भने पहिलो खेलमा पुलिस र दोस्रो खेलमा बागमतीसंग बराबरी खेल्दै तेस्रो खेलमा मधेसलाई आठ विकेटले हराएको थियो ।
२०८० माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शिर्ष चारमा रहेका चार टोलीले जय ट्रफी एलिट कपमा सहभागिता जनाएका थिए । प्रधानमन्त्री कपको फाइनलमा पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रधानमन्त्री कपको फाइनल खेलेका दुबै टोली पुनः एलिट कपको फाइनलमा भिड्न लागेका हुन् । आर्मीका लागि यो खेल अघिल्लो पटक फाइनलमा बेहोरेको हारको बदला लिने मौका हुनेछ भने पुलिसका लागि आफ्नो वर्चश्व कायम राख्ने अवसर रहनेछ ।

