काठमाडौं,१३असाेज:नेपाल क्यानडासंग पराजित भएको छ । क्यानडामा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टि-२० सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ ।
यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासंग २ तथा ओमानसंग १ खेलमा हारको सामना गरेको थियो।
क्यानडाको किंग सिटीमा भएको खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रनमा समेटियो ।
कप्तान रोहित पौडेल कलिम सानाको बलमा बोल्ड हुनुअघि ३७ रन बनाए । कुशल मल्लले २२, सन्दीप लामिछानेले १० तथा देव खनालले १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
क्यानडाका कलिम सानाले ४, साद विन जाफरले ३ तथा प्रविण कुमार र अखिल कुमारले समान १ विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो ।
क्यानडाका साद विन जाफरले १८ बलमा सर्वाधिक २३ रन बनाए । जाफर सन्दीपको बलमा कुशल मल्लबाट समातिए । श्रेयश मोभ्भाले २३ बलमा २२ रन बनाए । मोभ्भा सन्दीपको बलमा बोल्ड आउट भएका थिए ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान ३/३ तथा रिजन ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।
सिरिजमा नेपाल र क्यानडाका साथै ओमानको पनि सहभागिता रहेको छ ।
नेपालले दोस्रो खेलमा आइतबार ओमानको सामना गर्दा तेस्रो खेलमा मंगलबार क्यानडासँग खेल्नेछ । चौथो खेलमा नेपालले बुधबार फेरि ओमानको सामना गर्नेछ ।