वीरगन्ज,२९पुसः भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा पुन तबरेज अहमद नियुक्त भएका छन् ।सरकारले ७१ जिल्लामा भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गर्ने क्रममा पर्साको अध्यक्षमा अहमद नियुक्त भएका हुन् ।अहमद ,जनता समाजवादी पार्टी (जसपा) का नेतापनि हुन् । उनि यसअघि २०७८ चैत १७ गतेदेखि २०८० चैत ८ गतेसम्मपनि पर्साको भूमी आयोगको अध्यक्ष थिए ।
सत्ता गठबन्धनमा रहेका काँग्रेस, एमाले, लगायतका दलहरुले ७१ जिल्लामा भागबन्डा गरेर भूमी समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेका हुन् ।
यस्तै बाराको अध्यक्षमा जीतपुरसिमरा उपमहानगरपालिका–२१ का भरत बहादुर घले नियुक्त भएका छन् । जिल्लाको भूमी आयोगको अध्यक्षमा नियुक्त भएकाहरुले सोमबार नै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सपथ ग्रहण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयले भूमि क्षेत्रमा भएका महत्त्वपूर्ण कामहरूको जानकारी गराउँदै अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने उल्लेख गरे। आयोगको ३ वर्षे कार्यकालमा भूमि समस्या स्थायीरूपमा समाधान हुने उनले बताए।
मन्त्री अधिकारीले भूमि र सहकारी क्षेत्रको समस्या समाधान वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेकाले अध्यादेशमार्फत भूमि ऐन र सहकारी नियमन प्राधिकरण गठन गरिएको उल्लेख गरे। संसदमार्फत ऐन ल्याउँदा लामो समय लाग्ने र समस्या समाधानमा विलम्ब हुने देखेर सरकारले फाष्ट्रयाकमार्फत ऐन ल्याएको स्पष्ट पारे। भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई ३ वर्षभित्र सबै जिल्लामा देखिएका भूमि समस्या स्थायीरूपमा समाधान गर्ने गरी काम गर्न मन्त्री अधिकारीले निर्देशन दिए।


