वीरगन्ज,२०फगुनः सर्वाधिक सवारीसाधन आयात हुने नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी.आइसिपी) परिसरमा चार्जिङ स्टेसन नहुँदा यो नाकाबाट विद्युतीय कारको आयात घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्मको तुलनामा चालु आवको यसै अवधिमा वीरगन्ज नाकाबाट विद्युतीय कारको आयात ह्वात्तै घटेको छ ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार समीक्षा अवधिमा यो नाका हुँदै १७ वटा मात्र विद्युतीय जिप, कार, भ्यान आयात भएका छन् । ६ करोड मूल्य बराबरका १७ वटा यस्ता सवारी आयात हुँदा ८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।गत आवको त्यहिी अवधिमा भने ६७ करोड रुपैयाँ बराबरको ३ सय १४ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । जसबाट ३२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारी वीरगन्ज नाकाबाट विद्युतीय सवारीसाधनको आयात घट्नुको मुख्य कारण एकीकृत सुरक्षा जाँच चौकी –आइसिपी) परिसरमा एउटा पनि चार्जिङ स्टेसन नहुनु रहेको बताउँछन् । ‘एकीकृत सुरक्षा जाँच चौकी आधुनिक र करिब ७ वर्ष अघि मात्र सञ्चालनमा आए पनि यसमा एउटा पनि चार्जिङ स्टेसनको व्यवस्था छैन,’ उनले भने, ‘त्यस कारण इभी आयातकर्ताहरु यो नाकाबाट यस्ता सवारी आयात गर्न रुचाउँदैनन् ।’
यो समस्याका कारण अधिकांश आयातकर्ताले इभी आयात गर्ने नाका परिवर्तन गरी भैरहवा र रसुवा भन्सार तर्फ गएको तिवारीले बताए । ‘अधिकांश इभी चीनबाट आयात हुने भएकाले रसुवा नाकाबाट भित्र्याउन सहज हुन्छ,’ उनले भने, ‘यसबाहेक दक्षिणी नाकाबाट इभी भित्र्याउँदा आयातकर्ताको रोजाइ भइरहवा नाका बन्न पुगेको छ ।’
भैहरवा भन्सार परिसरमै चार्जिङ स्टेसन नभए पनि त्यहाबाट जाँचपास गरेर काठमाडौंका लागि छुट्दा भैरहवा–बुटवल सडक खण्डमै तीन–चार वटा चार्जिङ स्टेसन सहजै उपलब्ध हुने गरेको उनले बताए । कुनै पनि नाकाबाट यस्ता सवारीसाधन भित्रिँदा भन्सार बिन्दुमा कम्तीमा २÷३ महिना राखेर जाँचपास प्रक्रिया गरिन्छ ।
त्यस अवधिमा अधिकांश इभीको चार्ज कम भइसकेको हुन्छ । यस्तो अवस्थामा ती सवारीको ब्याट्री गुणस्तरीय चार्जिङ स्टेसनमा गर्नुपर्ने हुन्छ । वीरगन्ज क्षेत्रमा स्तरीय चार्जिङ स्टेसन नहुँदा यहाँबाट चार्ज गरेर काठमाडौंका लागि हिँडेका कतिपय इभी बाटोमै अलपत्र परेको गुनासो आयातकर्ताबाट पनि आएको तिवारीले बताए ।
आइसीपी वीरगन्ज परिसरमा अविलम्ब चार्जिङ स्टेसन निर्माणका लागि विभागलाई आग्रह गरेको उनको भनाइ छ ।शंकर आचार्य/कान्तिपुर

