वीरगन्ज,२४पुसःनेपाल घुम्न आउने भारतीय पर्यटकलाई वीरगन्ज नाकाको एक ठाँउमा मात्रै सुरक्षा चेकजाँच गर्ने व्यवस्था मिलाउन पर्साको स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरु लागेका छन् ।
नेपाल घुम्न वीरगन्ज नाका हुदैंं आउने भारतीय पर्यटकलाई नाकामै पाँच पाँच सय मिटरको दूरीमा चार पाँच ठाँउमा हुने गरेको सुरक्षा चेकजाँचले सास्ती खेप्नु परिरहेको गुनासो छ ।अहिले भारतीय पर्यटक वीरगन्ज नाकाबाट छिर्दा नाकाकै शंकराचार्य प्रवेशद्वार, भन्सार गेट, रजतजयन्ति चोक , इनर्वा चोक ,नगवा चोक र नयाँ बसपार्क चोक गरी ६ स्थानमा सुरक्षा जाँच गर्ने गरिएको छ ।झण्डै दुई किलोमिटरको दूरीमै ६ ठाँउमा सुरक्षा जाँच गरिदाँ त्यसले पर्यटकहरु प्रताडित हुदैं आएका छन् ।
बुधबार वीरगन्जमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले आयोजना गरेको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नाकामा हुदैं आएको सुरक्षा जाँचले भारतीय पर्यटकहरु पिडित हुदैं आएको गुनासोलाई सम्बोधन गर्न आँफुहरु लागेको बताए ।
उनले भने,‘जब एउटा भारतीय पर्यटक वीरगन्ज नाकाको शंकराचार्य गेटबाट नेपालमा छिर्छ त्यसबेला उसको एउटा योजना हुन्छ, एउटा आकंक्षा हुन्छ, एउटा अपेक्षा हुन्छ कि नेपाल जस्तो सुन्दर र बुद्ध जन्मेको देशमा म आफनो विदा आनन्दले बिताउँछु ।तर शंकराचार्य गेटदेखि नै उसलाई चेकजाँचको बहानामा हैरानी दिन थालियो, ठाडो बोल्न थालियो, एक एक किलोमिटरमै उसको गाडी चेक गर्न थालियो भने उसले नेपाल देशकै बारे कस्तो प्रसेप्सन(धारणा) लिएर फर्किन्छ एक पटक विचार गरौंं त ?।’
त्यसैलाई मध्यनजर गरेर नै अब वीरगन्ज नाकाको शंकराचार्य प्रवेशद्वारमै पर्यटकलाई मात्रै लक्षित गरेर इन्टेग्रेटेड चेक प्वाइन्ट (एकिकृत जाँच बिन्दु) स्थापना गर्ने तयारीमा आँफुहरु लागेको उनले बताए । नेपाल घुम्न आउने भारतीय पर्यटकलाई वीरगन्ज नाकाको एक ठाँउमा मात्रै सुरक्षा जाँच गरेपछि ती पर्यटक आफ्नो गाडीमा छिमेकी बारा र मकवानपुर जिल्लासम्म बीच बाटोमा कहिपनि जाँच नगराइकन पुग्नसक्ने व्यवस्था मिलाउन लागिएको उनले बताए ।
उनले भने,‘वीरगन्ज नाकामै एउटा इन्टेग्रेटेड चेक प्वाइन्ट हुन्छ ।त्यहाँ नेपाल प्रहरी,सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले पर्यटकको गाडी रोकेर आ–आफनो क्षेत्राधिकारमा पर्ने चेकजाँच एकैपटक गर्छन् । चेकजाँचपछि तीन वटै निकायका अधिकृतले एउटा पंहेलो कार्डमा हस्ताक्षर गरेर दिन्छन् ।त्यो कार्ड पर्यटकले आफनो गाडीको अगाडीको सिसामा टाँसेर राख्छ । त्यसपछि त्यो गाडी पर्सा, बारा हुदैं मकवानपुरसम्म पुग्दा बीच बाटोमा अन्त कतैपनि चेकजाँच हुदैन । एकैपटक मकवानपुरको अन्तिम सिमामा मात्रै पुगेपछि त्यहाँको इन्टेग्रेटेड चेक प्वाइन्टमा चेकजाँच हुन्छ ।
उताबाट फर्किदा मकवानपुरमा पनि त्यस्तै प्रकारको इन्टेग्रेटेड चेक प्वाइन्टमा एक पटक चेकजाँच भइसकेपछि बीच बाटोमा अन्त कहिपनि चेकजाँच नभई एकै पटक वीरगन्ज नाकाको इन्टेग्रेटेड चेक प्वाइन्टमा चेकजाँच हुने व्यवस्था मिलाइने प्रजिअ अर्यालले सुनाए ।
त्यसका लागि आँफुले पर्साका अन्य सुरक्षा निकायका प्रमुखका साथै छिमेकी बारा र मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंग कुरा गरिसकेको भन्दै अर्यालले भने,‘पर्सा जिल्लाकोमात्रै कुरा भइदिएको भए तत्कालै वीरगन्ज नाकामा इन्टेग्रेटेड चेक प्वाइन्ट राख्न लगाइहाल्थे । तर तीन जिल्लाको कुरा भएकाले बारा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी ज्युसंग समन्वय गरिरहेको छु । उहाँहरु कन्भिन्सपनि भइसक्नु भएको छ। ज्तिसक्दो चाँडो यो काम हुन्छ।’
उनले थपे,‘ वीरगन्ज नाका हुदैं छिर्ने भारतीय पर्यटकलाई कमसेकम तीन जिल्लामा दुई ठाँउमा मात्रै सुरक्षा चेक गरेर उनिहरुलाई हैरानी नदिउँ भन्ने हाम्रो योजना छ । त्यसका लागि गृहकार्य भइरहेको छ । यसमा सरोकारवाला अन्य निकायको साथ र सहयोगपनि आवश्यक छ ।’
यसबाहेक नेपाल घुम्न आउने भारतीय पर्यटकलाई भारु २५ हजार भन्द्या बढी रकम साथमा लिएर आउन नपाउने अहिलेको कानूनी प्रावधान रहेकोमा त्यसप्रतिपनि आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।यस बारेमा कानूनी जटिलता भएपनि व्यवहारिक रुपमा मिलाएर अगाडि बढ्नका लागि जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसंग आग्रह गरेको उनले बताए ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पर्साबाट नेपाल पत्रकार महासंघको केन्द्र,मधेस प्रदेश र पर्सा शाखामा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मानितपनि गरिएको थियो ।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,पत्रकार महासंघका पूर्व केन्द्रिय सचिव दीपेन्द्र चौहान,मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा,पर्सा अध्यक्ष ओमप्रकाश खनाल, वीरगन्जका होटल तथा पर्यटन व्यवसायी लगायतकाको सहभागिता थियो ।