काठमाडौं,१८मंसिरःकाठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध फराकिलो जित हात पारेको छ ।एनपिएलमा सुदूरपश्चिमको यो पहिलो जित हो भने विराटनगरको लगातार दोस्रो हार हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । १८३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १६.१ ओभरमा अलआउट हुदैं ९२ रनमै समेटिएपछि सुदूरपश्चिमले ९० रनको फाराकिलो जित हात पारेको हो ।
विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रन बनाए भने राजेश पुलामीले १५ र अनिल खरेलले १० रनमात्रै जोडे । बलिङ्तर्फ सुदूरपश्चिमका लागि अविनाष बोहोरा र स्कट कुगेयन्ले समान तीन तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक अविजित ५७ रन बनाए। उनले २४ बलमा ३ चौका र ५ छक्का बनाउँदै अविजित अर्धशतकीय पारी खेलेका हुन्। ब्रान्डन म्यामुलेनले २६ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाए। इशान पाण्डेले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए।
विराटनगरका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। इस्मात अलाम र वरिस अहमद र क्रिस सोलले समान १÷१ विकेट लिए।

