काठमाडौं,१५असोजः खानेपानीमन्त्री प्रदीप यादवले पानीबाट विभिन्न रोग फैलिन सक्ने भएकाले देशभर पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन निर्देशन दिएका छन् ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोले खानेपानीका मुहानमा बाढी एवं ढल पसेकाले पानीबाट विभिन्न रोग फैलन सक्नेतर्फ ध्यान दिँदै पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन मातहतका निकायलाई मन्त्री यादवले निर्देशन दिएका हुन् ।
मन्त्री यादवले बाढीका कारण देशभर पानीका मुहानमा क्षति हुनुका साथै मुहानमा धमिलो पानी छिरेकाले पानी शुद्धीकरणका लागि आवश्यक ‘ब्लिचिङ पाउडर’, पीयूष, ‘एक्वा ट्याब’ वितरण गर्न निर्देशन दिएका मन्त्री यादवका निजी सचिव भक्तराज जोशीले जानकारी दिए ।
मन्त्री यादवको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन विभाग गुणस्तर सुधार तथा सेवा नियमन शाखाको समन्वय र सहजीकरणमा काठमाडौँका विभिन्न ठाउँमा ब्लिचिङ पाउडर, पियूष, एक्वा ट्याब वितरण थालिएको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको अनुगमन तथा निरीक्षण गरेका मन्त्री यादवले पानीको धमिलोपन कम भएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरी काठमाडौँका पानी ट्याङ्कीमा खानेपानी आपूर्ति गर्न निर्देशनपनि दिए ।