काठमाडौं,११ असाेज:सशस्त्र प्रहरी बल नेपालले वीरगन्जसहित थप २ सीमा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । सशस्त्र प्रहरीले वीरगन्ज नाका र रुपन्देहीको बेलहिया नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको हो ।
यसअघि झापाको काँकडभिट्टा नाकामा २०८० साल असोज २५ गतेदेखि कुकर परिचालन गरिएको थियो। आज शुक्रबारदेखि वीरगन्जसहित थप दुई वटा नाकामा तालिम प्राप्त कुकरसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सीमा क्षेत्रमा ओसारपसार हुनसक्ने अवैध हातहतियार तथा विष्फोटक पदार्थ र लागूऔषधको पहिचान गर्नसक्ने दुई/दुई वटा तालिम प्राप्त कुकुर परिचालन गरिएको उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उप–उपशाखाबाट वीरगन्ज नाकामा परिचालित दृष्टि ल्याब्राडोर र जर्मन सेफर्ड कुकुरले लागुऔषध र हातहतियार तथा बिस्फोटक पदार्थ पहिचान गर्नेछ।
यसैगरि रुपन्देहीमा परिचालित साया ल्याब्राडोरले लागूऔषधको पहिचान गर्नेछ । डेजी जर्मन सेफर्डले हातहतियार तथा विष्फोटक पदार्थको पहिचान गर्नेछ ।साभार:अनलाइनखबर

