काठमाडौं,१०असोजःचालु आर्थिक वर्षको साउन र भदौमा मात्रै नेपालमा विदेशबाट २ करोड ९९ लाख ५६ हजार रूपैयाँको प्याज आयात गरिएको छ । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २८७.४३ प्रतिशतले बढी परिमाणमा प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ ।
भन्सार विभागका अनुसार गत साउन र भदौं गरी दुई महिनामा १ लाख ६ हजार ४३३ किलो प्याज आयात गरिएको हो । गत आर्थिक वर्ष साउन र भदौमा भने ७७ लाख ३२ हजार रूपैयाँ बराबरको ५० हजार ५२७ किलो प्याज आयात गरेको थियो ।
नेपालमा चीन र भारतबाट सुकेको प्याज आयात हुने गरेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भारतबाट १ करोड ५१ लाख २६ हजार र चीनबाट १ करोड ४८ लाख ३० हजार रूपैयाँको प्याज आयात गरिएको छ ।
गत आर्थिक वर्षभर ९ करोड रूपैयाँको ५ लाख ९३ हजार ५७६ किलो प्याज आयात भएको थियो ।गत आर्थिक वर्षमा सबैभन्दा बढी भारतबाट ५ करोड ५८ लाख ७२ हजार रूपैयाँको र चीनबाट ३ करोठ ४१ लाख ४८ हजार रूपैयाँको प्याज आयात गरिएको थियो ।साभार : इकान्तिपुर