
पाँचथर,१३भदौ :पाँचथर जिल्लाको फालेलुङ गाउॅपालिका-५ प्राङवुङमा बिहीबार दिउँसो विस्फोट हुँदा ३ जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा स्थानीय डाँडागाउँ निवासी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, अढाइ वर्षीया छोरी प्रिन्सा साँवा र छिमेकी ९ वर्षीय पवन राई रहेका छन् ।
घाइतेमध्ये दिप्सन र प्रिन्साको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि झापा पठाइएको छ । पवनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँथरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताए । दिप्सन कालिका माध्यमिक विद्यालय प्राङवुङ कक्षा ६ मा अध्ययनरत छन् भने पवन कक्षा ४ का विद्यार्थी हुन् ।
स्थानीयका अनुसार बिहीबार दिउँसो साढे २ बजे ठूलो आवाजमा विस्फोट भएको थियो । विस्फोट भएलगत्तै गएर हेर्दा बालबालिका घाइते अवस्थामा भेटिएका स्थानीयले बताएका छन् । घाइतेमध्ये पवन राईका अनुसार खेलिरहेका अवस्थामा डल्लो आकारमा भेटिएका सामग्री पड्किएको हाे । पवनको अवस्था सामान्य छ ।
घट्नाको जानकारी आएलगत्तै प्रहरी चौकी प्राङवुङबाट गएको टोलीले उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको हो ।
अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयबाट पनि टोली खटाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।साभार:ईकान्तिपुर

