वीरगन्ज,७साउन:वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित माँ दुर्गा रोड क्यारियर्समा सशस्त्र प्रहरीले छापा मारेर भन्सार राजश्व छलिका करिब २० लाख रुपैयाँ मूल्यकाे सामान बरामद गरेको छ।
कलवार धर्मशाला नजिक रहेकाे मदन यादवकाे क्यारियर्समा आइतबार सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन र वीरगन्ज भन्सार कार्यालयका नायब सुब्बा विष्णु प्रसाद चौधरीसहितको संयुक्त टोलीले छापा मारेको हो।
छापा मार्ने क्रममा क्यारियर्सकाे गाेदाममा भारतबाट भन्सार छलेर ल्याएर भण्डारण गरिएको २० लाख २ हजार पाँचसय रुपैयाँ मूल्य बराबरको आलमण्ड, छोकडा, काजु, कपडा र मसलाका सामानहरू बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेंद्र सिंहले जानकारी दिए।
बरामद आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता समेत रहेका सिंहले जानकारी दिए।

