Madhes Khabar
स्वास्थ्य

स्वास्थ्यमन्त्री यादवले भने :डाक्टरको जहाँ सरूवा भएको छ त्यहाँ जानै पर्छ,अब कुनै पावर चल्दैन

काठमाडौं,२८जेष्ठःसंघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले चिकित्सक(डाक्टर)हरूको रोजाइ सुगम र सहर हुने गरेको बताएका छन् । सरुवा गरिएको ठाउँमा जानुभन्दा पनि शक्तिको दुरुपयोग गरेर भएपनि सुगम र सहरहरू चिकित्सकको रोजाइमा पर्ने गरेको मन्त्री यादवको भनाइ छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमितिको सोमबारको बैठकमा स्वास्थ्यमन्त्री यादवले चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा पठाउने विषयमा गम्भीर रहेको बताए । दुर्गम र गाउँमा सरुवा भएका चिकित्सकले त्यहाँ हाजिर हुनैपर्ने उनको भनाइ छ ।

’पायक पर्ने ठाउँको लागि यस्तो पावर आउँछ, कुर्सी हल्लिन्छ । तर कुनै पावर चल्दैन, मानिदैन । व्यवहारिक रूपमा हेर्न सकिएला,’ मन्त्री यादवले भने, ’जहाँ सरूवा भएको छ त्यहाँ हाजिर हुनैपर्छ । सबैलाई सुगम चाहियो भने गाउँमा कसले हेर्छ ? त्यसैले यसमा मन्त्रालय गम्भीर छ ।’

दुर्गममा अस्पताल भवन भएको तर डाक्टर नभएको आफूले पाएको मन्त्री यादवको भनाइ छ । भवन निर्माण हुने तर स्वास्थ्य उपचार गर्ने उपकरण र औजार नभएको तर त्यसको जिम्मेवारी कसले लिने भन्ने यकीन नरहेको पनि उनले बताए । ’अस्पताल भवन छन् तर डाक्टर छैनन्, उपचार गर्ने उपकरण छैनन् । त्यसको जिम्मा कसले लिने ? संघले सबै पठाउने, प्रदेश र स्थानीय तहले हेरचाह पनि नगरिदिने ?,’ उनले भने ।

संघीय अस्पतालमा सुधारको खाँचो रहेको मन्त्री यादवले बताए । स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार काम हुन नसकेको उनको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा रहेका बेथिति अन्त्य गर्नका लागि मन्त्रालय गम्भीर रहेको उनले बताए ।

धेरै अस्पतालमा उपकरणहरूमा मुसाले घर बनाएको मन्त्री यादवले बताए । आवश्यकता रहको ठाउँमा उपकरण नपुगेको तर अनावश्यक ठाउँमा उपकरण पठाएर प्रयोग विहीन बनाइएको पाइएको मन्त्री यादवले बताए ।

’स्वास्थ्य बिमा र औषधि निशुल्क भनेको छ, तर बिरामीले पाइरहेको छैन, निशुल्क औषधि पाइरहेको छैन, कारण के हो ? अध्ययन गर्न जरूरी छ । उद्योगहरूको अनुगमन गर्ने, गुणस्तर जाँच गर्ने, तर प्रयोगशाला जाँच्न लायक छैन,’ मन्त्री यादवले भने, ’जनशक्तिको धेरै ठूलो अभाव छ । जनशक्ति थप्ने पहिलो निर्णय नै गरेको छु । जनशक्ति थपेन भने अस्पतालको अवस्था जटिल बन्न सक्छ ।’

दुई रूपैयाँको औषधि लिन दुई घण्टा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।स्वास्थ्य मन्त्रालयले गलत काम गर्नेहरूलाई कारबाही गर्ने पनि मन्त्री यादवले बताए । अस्पतालहरूमा सुक्ष्म अध्ययन भइरहेको उनले बताए । केही दिनमा धेरै जना सस्पेन्ड, कारवाही हुन्छन् । ’काम बिगार्ने चिकित्सक र कर्मचारी, गाली खाने मन्त्री, सांसद, नेता ?,’ उनले भने ।साभार : ईकान्तिपुर

Related posts

वीरगन्जमा थप पाच जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

पर्साकाे पटेर्वा सुगाैलीमा सञ्चालनमा आयाे जिल्लाकै पहिलाे आधारभुत अस्पताल,देउवाले गरे उद्घाटन 

MadhesKhabar

पर्सा जिल्ला मधेस प्रदेशमै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा

MadhesKhabar

Leave a Comment