Madhes Khabar
स्वास्थ्य

वीर अस्पतालमा आँफुले अनुगमन गरेपछि उल्लेख्य सुधार भएको स्वास्थ्यमन्त्री यादवको दाबी

काठमाडौं,२५जेष्ठः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज(शुक्रबार)पुनः काठमाडौंस्थित वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अनुगमन गरेका छन् ।यसअघि जेष्ठ ९ गते उनले वीर अस्पतालको अनुगमन गर्दै विभिन्न समस्याहरू औँल्याउनुका साथै सुधारका लागि निर्देशन दिएका थिए ।

आजको अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालमा उल्लेख्य सुधार भएको पाएको बताए । ओपिडी व्यवस्थापनमा सुधार आएको, भिडभाड कम भएको, र रगत सङ्कलन गर्ने ठाउँलाई विस्तार गरिएको उनले जानकारी दिए ।यद्यपि आइसियुमा बेड पाउन गाह्रो रहेको समस्या भने कायम रहेको बताउँदै उनले आइसियुको संख्या थप्न सुझाव दिए।

उनले राष्ट्रिय ट्रमा सेन्टरलाई देशकै एक महत्वपूर्ण अस्पतालको रूपमा वर्णन गर्दै यसको शाखाहरू देशका अन्य स्थानमा पनि स्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने, “देशभरका बिरामीहरूको चाप एक्लै ट्रमा सेन्टरले थेग्न सक्दैन, तपाईँहरूलाई धेरै भार परिरहेको छ। देशका अन्य स्थानमा पनि ट्रमा सेन्टरका शाखाहरू खोल्न जरुरी छ । यसका लागि म पहल गर्नेछु ।”

मन्त्री यादवले ट्रमा सेन्टरमा भएको सुधारबाट आफू धेरै खुसी भएको बताउँदै अन्य अस्पतालहरूले पनि यसलाई अनुकरण गर्दै सुधार गर्दा अधिकांश समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

जनशक्ति अभावका कारण अस्पतालमा सेवा प्रवाहमा चुनौतीहरू रहेको बताउँदै मन्त्री यादवले देशभरका अस्पतालमा जनशक्ति थप्ने कार्यमा लागिरहेको जानकारी दिए । उनले नर्सिङ स्टाफको अभाव समाधान गर्न नर्सिङ स्टाफ थप्ने प्रक्रिया सुरु भएको जानकारी गराए। साथै, चिकित्सक र कर्मचारीहरूलाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै बजेट व्यवस्थापनको जिम्मा आफूले लिने आश्वासनपनि उनले दिए। “तपाईँहरू निर्धक्क भएर काम गर्नुहोस्, बजेट व्यवस्थापनको जिम्मा मेरो हो । कहाँबाट मागेर ल्याउनु पर्छ म गर्छु तर तपाईँहरूलाई अप्ठ्यारो हुन् दिन्न,” उनले भने ।

मन्त्री यादवले देशभरका अस्पतालहरूमा प्रयोगविहीन रहेका मेसिनहरूलाई आवश्यक स्थानमा पठाउने र त्यहाँ प्रयोगमा ल्याउने पहल सुरु गरेको जानकारी दिए। “छिट्टै तपाईँहरूले यसको अनुभूति गर्नुहुनेछ,” उनले भने ।

ट्रमा सेन्टरको अनुगमन पूर्व, मन्त्री यादव त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा पनि अनुगमनका लागि पुगेका थिए। उनले अस्पतालले दिइरहेको सेवाबाट आफू प्रभावित भएको बताउँदै, आँखा अस्पतालले पेपरलेस प्रणालीको थालनी र जाँचका लागि विशिष्ट किसिमको आधुनिक उपकरणको प्रयोग गरेकोमा प्रशंसा गरे । मन्त्री यादवले अन्य अस्पतालहरूमा पनि यसलाई लागू गर्न पहल गर्ने बताए ।

आँखा अस्पतालको अनुगमनका क्रममा, त्यहाँका प्रमुखले पुरानो भवनबाट उपचार गर्न कठिनाइ भइरहेको दुखेसो पोखेका थिए। अस्पतालका निर्देशकले भवन गुठी संस्थानको जग्गामा निर्मित रहेको र यसलाई विस्तार गर्न गुठीबाट अनुमति आवश्यक रहेकोले सोका लागि पहल गर्न मन्त्री यादवसँग आग्रह गरे ।

यसअघि मन्त्री यादवले काठमाडौँस्थित वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पनि अनुगमन गरेका थिए । अनुगमनमा मन्त्री यादवका निजी सचिव भक्तराज जोशी लगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

MadhesKhabar

जीतपुरसिमरा उपमहानगरमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ

MadhesKhabar

जिराभवानी गाँउपालिकाका जनताले पनि ब्लड बैंकबाट निशुल्क रगत पाउने

MadhesKhabar

Leave a Comment