काठमाडौं,१३बैशाखःकाठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पिनसीपमा मधेस प्रदेशले चौंथो जित हात पारेको छ ।मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा हराउँदै मधेसले प्रतियोगितामा चौथो जित हात पारेको हो ।
निर्धारित २० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरबाट नतीजा निकाल्ने क्रममा सुदूरपश्चिमले मात्र ७ रन बनाएपछि ८ लक्ष्य मधेसले पाँचौ बलमा पुरा गर्दै जित हात पारेको हो।
यसअघि निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेर मधेसले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रनमात्र बनाएको थियो ।उसका लागि अभिषेक राईले २२ र वसन्त कार्कीले १५ रन जोडेका थिए। बलिङ्तर्फ मधेसका रञ्जित कुमारले ३ विकेट लिए।
पहिले ब्याटिङ गरेको मधेसले पूरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो ।उसका लागि रोहन विकेले सर्वाधिक ४६ रन बनाए। कप्तान राहुल मण्डलले २३ रन, अभिषेक तिवारीले अविजित २१ रन र विशाल पटेलले १४ रन बनाए।बलिङ्तर्फ सुदूरपश्चिमका नरेन साउद, हेमन्त धामी र शेर मल्लले २÷२ विकेट लिए।
जारी प्रतियोगितामा मधेसले ६ खेलमा ४ जित सहित ८ अंक बनाएको छ। उसले फाइनलमा पुग्ने संभावनालाई जिवितै राखेका छ। बागमती र लुम्बिनीकोपनि समान ८ अंक छ। ५ खेलबाट ४ अंक जोडेको सुदूरपश्चिम भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ।

