बारा,२८चैत:नेपाल पुलिस क्लब बाराको सिमरामा जारी जीतपुरसिमरा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।बुधबार राती सिमरा रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा आयोजक नवजनजागृती युवा क्लब सिमरालाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पुलिसको जीतमा दुबै गोल उज्वल राईले गरेका थिए भने आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टी गोल गरेका थिए ।
खेलको तेश्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो ।आयोजकको समर्थनमा सिमरा रङ्गशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराश पार्दै पुलिसका लागि उज्वल राईले उत्कृष्ट शुरुवात गरेका थिए । राईट कर्नर एरियाबाट आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्वलले गोल गरेका थिए ।
शुरुवाती दबाबमा परेको आयोजक खेलको पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्किएकाे थियो । पुलिस क्लबका निरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापामगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । पेनाल्टी मार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमा ल्याएका थिए ।
खेलको १९ औं मिनटमा उज्वल राईलेनै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । डिबक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वलले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
खेलमा आकर्षक अवसरहरु बनाएपनि फिनिसिङमा चुक्दा आयोजक नवजनजागृति युवा क्लब घरेलु मैदानमा निराश बन्यो ।खेलको म्यान अफ दि म्याच पुलिसका उज्वल राई घोषित भए । उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपिएफ क्लब र फ्रेण्ड्स क्लबको बिचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

