वीरगन्ज,२७चैतः वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रहरी नियन्त्रणमा रहेका मेडिकल कलेजका प्रबन्ध निर्देशक(एमडी) शहनवाज अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ ।
सोमबार मेडिकल कलेजको ल्याबमा वीरगन्ज महानगरको अनुगमन समितिले अनुगमन गर्ने क्रममा म्याद सकिएका केमिकल लगायतका औषधी बरामद भएपछि प्रहरीले मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका अन्सारीको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबारराति नै उनलाई अस्पतालमा भर्ना गरिएको छ । हाल उनको् वीरगन्ज हेल्थकेयर हस्पिटलको पिआइसियूमा उपचार भइरहेको छ ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेडिकल कलेज प्रशासनले एमडी अन्सारी र ल्याब प्रमुख साहलाई प्रहरीले पूर्वाग्राही भएर नियन्त्रणमा लिनु अन्यायपूर्ण र अनुचित रहेकाले तत्काल दुवैजनालाई रिहा गर्न माग गरेको छ ।
मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत गौसुल आजमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–मेडिकल कलेजले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत अन्य नियामक निकायको निर्देशन र प्रोटोकलको पालना गर्दै आएको छ । कुनैपनि प्रयोगशालामा रिएजेन्ट र रसायनको म्याद समाप्त हुनु सामान्य कुरा हो । त्यस्ता म्याद सकिएका रिएजेन्ट र रसायनहरु भण्डारण गरेर विधिप्रकृया पूरा गरी निश्चित अन्तरालमा प्रयोगशालाबाट हटाइन्छ । तसर्थ मेडिकल कलेजको प्रयोगशालामा म्याद नाघेका वस्तुहरु राख्नु गैरकानूनी छैन। हाम्रो प्रयोगशालामा त्यस्ता म्याद नाघेका रिएजेन्ट र रसायनहरुसंग सम्बन्धित जोखिम शुन्य हुन्छ किनकी मेडिकल कलेजको प्रयोगशालामा भएका स्वालित मेसिन र उपकरणले म्याद नाघेका रिएजेन्ट र रसायन एसेप्ट नै नगर्ने भएकाले जाँच प्रकृया नै सुरु गर्दैन ।’
सोमबार महानगरको टोली र प्रहरीले अनुगमन गर्ने क्रममा यो तथ्य अनुगमन टोलीलाई स्पष्ट रुपमा जानकारी गराउँदाका बाबजुदपनि प्रहरीले एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पूर्वाग्राही भएर पक्राउ गरेर लगेको प्रमुख प्रशासकीय अधिकृत आजमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको प्रयोगशालामा छापा मारेर म्याद गुज्रिएका झण्डै ४० प्रकारका केमिकल लगायतका औषधि फेला परेपछि प्रहरी उपरीक्षक कुमोध ढुंगेल नेतृत्वको प्रहरी टोलीले एमडी अन्सारी र ल्याब प्रमुख साहलाई नियन्त्रणमा लिएको थियो ।


