वीरगन्ज,०७साउनःवीरगन्जको नारायणी अस्पतालमा विगत ३ महिनादेखि एमआरआई सेवा बन्द हुदाँ बिरामीहरु मर्कामा परेका छन् । सञ्चालनमा आएको ५ महिनापनि नबित्दै एमआरआई मेशिनको बाँकी भुक्तानीका विषयमा अस्पताल प्रशासन र आपुर्तिकर्ताबिचको विवादका कारण एमआरआई सेवा ३ महिनादेखि बन्द भएको हो ।
संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत चीनबाट ३० करोड रुपैयामा खरिद गरि ल्याएको थ्रीटेस्लाको एमआरआई मेशिन अस्पतालमा जडान गरि गत कार्तिक महिनादेखि सञ्चालनमा ल्याइएको थियो ।
तर मेशीनको बाँकी २० प्रतिशत रकम अस्पतालले आपुर्तिकर्ता कम्पनि हेल्थ केयर प्रालिलाई भुक्तानी नगरेपछि मेशीन उत्पादक चिनीया कम्पनिले मेशीनको सफ्टवेयर अपडेट (अद्यावधिक) नगदिएकाले मेशीन गत बैशाखदेखि बन्द हुन पुगेको हो ।
त्यसअघिपनि उक्त एमआरआई मेशीन आपुर्तिकर्ता कम्पनिले २०७९ चैतमै चीनबाट खरिद गरेर ल्याएपनि बजारमा हिलियम ग्याँस नपाइएको भन्दै अस्पतालमा जडान नगरिदिदाँ ८ महिनासम्म त्यसै थन्क्याएर राख्नु परेको थियो । गत गत असोज २३ मा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत वीरगन्ज आएका बेला एमआरआई मेशीनको उद्घाटन गरेका थिए । उद्घाटन गरिएको तीन हप्तापछिमात्रै अर्थाात २०८० कात्तिक १४ गतेदेखि एमआरआई सेवा सुरु गरिएको थियो ।
तर सेवा सुरु भएको ५ महिनापनि नबित्दै मेशीनको बाँकी रकम भुक्तानीको विषयमा आपुर्तिकर्ता कम्पनि र अस्पताल प्रशासनबीचको विवादले गत बैशाखदेखि मेशीन बन्द हुन पुगेको हो । जसको मारमा अस्पतालमा उपचारका लाागि आउनने बिरामी परेका छन् ।
नारायणी अस्पतालको एमआरआई सेवा ३ महिनादेखि अवरुद्घ हुदाँ बिरामीहरु बजारका निजी अस्पतालमा दोब्बर शुल्क तिरेर एमआरआई सेवा लिन बाध्य छन्।नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रुपैयाँ तिरिरहेका छन्।
नारायणी अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले भने आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिको बदमाशीका कारण एमआरआई सेवा तीनमहिनादेखि बन्द हुनपुगेको बताए ।आपूर्तीकर्ता कम्पनिले मेशीनको सफ्टवेयर अपडेट नगरिदिएका कारण गत बैशाखदेखि नै मेशीन बन्द रहेको उनले बताए । उनले भने,‘ उसलाई तिर्नु पर्ने बाँकी २० प्रतिशत रकम अस्पतालसंग तयारी अवस्थामा छ । तर उसले मेसीन खरिद गरि ल्याएबापतको ५ प्रतिशत कर नेपाल सरकारलाई अहिलेसम्म बुझाएको छैन । त्यहि कारण बाँकी २० प्रतिशत रकम अस्पतालले उसलाई भुत्तःानी नदिएको हो ।’
आपूर्तीकर्र्ता कम्पनिले नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरी अस्पतालले बाँकी रहेको रकम भुक्तानी गरिदिएमा त्यसको जिम्मेवार आँफु हुने भएकाले बाँकी भुक्तानी नगरेको उनले बताए । निमित्त मेसु हकले भने,‘ उसले सरकारलाई तिर्नुपर्ने कर जुन दिन तिर्छ त्यहिदिन उसलाई तिर्नु पर्ने बाँकी २० प्रतिशत रकम अस्पतालले भुक्तानी गरिदिन्छ ।’
सफ्टवेयर अपडेट गरेर मेशीन सुचारु गर्नका लागि अस्पताल प्रशासनले दुई हप्तापहिले नै आपुर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिलाई पत्र काटीसकेको जानकारीपनि उनले दिए। उनले भने,‘ तर अहिलेसम्म उसले रेन्सपोन्स दिएको छैन ।अब यसबारेमा अस्पतालले अर्को एक्सन छिट्टै लिन्छ ।’