बारा,१८ चैत :जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण आगामी चैत २४ गतेदेखि शुरु हुने भएको छ । आइतबार बाराको सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।
सिमरा रंगशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम तथा सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगन्ज युनाईटेड क्लब , सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृती युवा क्लब सहित कूल १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार तथा स्थानीय उदयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिए ।
रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गत बर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको आयोजकले यस बर्षपनि होटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरता दिने जनाएको छ ।

