वीरगन्ज,१० चैतःबाराको परवानीपुरमा आयोजित तेस्रो परवानीपुर गोल्डकप फुटबलको उपाधि वीरगन्ज युनाईटेड क्लबले उचालेको छ ।शनिबार भएको फाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीलाई ट्राइब्रेकरमा ४–३ गोलले स्तब्ध पार्दै साविक विजेता वीरगन्जले उपाधि जितेको हो ।
यसअघि निर्धारति ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको अन्तिम निर्णय ट्राइब्रेकरबाट निकालिएको हो ।
परवानीपुर खेल मैदानमा भएको फाईनल खेलमा वीरगन्ज युनाईटेड क्लबले हेटौडा फुटबल एकेडेमीमाथि सुरुदेखि नै दबाब बनाएको थियो खेलको ३० औ मिनेटमा उदीत नारायण चौधरीले पहिलो गोल गरेर वीरगन्जलाई १–० को अग्रतामा पुरयाएका थिए ।तर खेलको ८५ औ मिनेटमा हेटौंडाका लागि सखिल गुरुङले गोल गर्दै खेल १ ण्१ गोलको बराबरीमा पुरयाएका थिए ।
त्यसपछि भएको ट्राईबे्रकरमा पाँचमध्ये वीरगन्जका चार खेलाडीले गोल गरे भने हेटौंडाका ३ जनाले मात्रै बललाई जाली चुमाउन सफल भएका थिए ।
उपाधिसंगै वीरगन्जले नगद दुई लाख एक हजार रुपैयाँँ पाएको छ भने उपविजेता हेटौंडाले एक लाख एक हजार रुपैयाँमै चित्त बुझाउनु पर्यो ।
शक्ति युवा क्लबले आयोजना गरेको प्रतियोगिताको समापन समारोहमा उपाधि विजेता वीरगन्जलाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले नगद सहित ट्रफी प्रदान गरे भने यस्तै उपविजेता हेटौंडालाई वडाअध्यक्ष राधाकृष्णा साह रौनीयार र समाजसेवी नागमणी उपाध्यायले नगद सहित ट्रफी हस्तान्तरण गरे ।
प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी वीरगन्ज युनाईटेड क्लबका अमर डंगोल घोषित भए । यस्तै उत्कृष्ट गोल रक्षक वीरगन्ज युनाईटेड क्लबकै दिलमणी चौधरी , उत्कृष्ट रक्षक वीरगन्ज युनाईटेड क्लबकै संजय चौधरी ,बेष्ट मिडफिल्डर वीरगन्ज युनाईटेड क्लबकै विपिन दुम्सी मगर,उत्कृष्ट प्रशिक्षकपनि वीरगन्ज युनाइटेड क्लबकै रामकिशोर धामी घोषित भए। उनीहरुलाई जनही नगद पाँच पाँच हजार रुपैया प्रदान गरियो ।

