वीरगन्ज,०१फागुनःआम जनता पार्टी(आजपा)का अध्यक्ष प्रभु साहले कांग्रेस र कम्युनिष्टहरुले सत्तामा बसेर देशलाई लुटीरहेको आरोप लगाएका छन् ।
वीरगन्जमा मंगलबार जनयुद्ध दिवसको अवसरमा आजपाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले भने,‘ कांग्रेस र कम्युनिष्टबिच कुनै फरक छैन । उनिहरुको पार्टीको नाम र झण्डा मात्रै फरक छ । तर काम एउटै छ ।जसरी हुन्छ शासन सत्तामा बसेर देशलाई लुट्ने ।जनतालाई कंगाल बनाउने ।’
पुराना दलहरुलाई डाँकाको संज्ञा दिदै साहले डाँकाहरुको गिरोहमा आफनो पार्टी साधु बनेर आएको जिकिर गरे । आजपा फरक धरातल र धारबाट बनेको पार्टी भएको उनले बताए ।उनले भने,‘ उनिहरुको काम देश लुट्ने हाम्रो काम देश बनाउने हो ।’
माओवादीको ११ वर्षे जनयुद्ध जायज भएपनि त्यसबाट माओवादीकै नेता मालामाल भएको तर जनता भने कंगाल बन्दै गएको आरोप साहले लगाए । अध्यक्ष साहले जनयुद्ध नेपाल र नेपालीको अवस्था बदल्न र तल्लो वर्गका जनतालाई मालिक बनाउने उदेश्यले भएपनि त्यो उदेश्य पूरा हुन नसकेको बताए । साहले भने,‘ जनयुद्धकै कारण माओवादी नेता मालमाल भए तर जुन जनताले रगत बगायो, बलिदानी दियो ,ती जनता झन् कंगाल बन्दै गइरहेका छन् ।’
अहिलेको संविधानलाई धोखाको पुलिन्दा भएको भन्दै साहले भने,‘ संविधान जारी गर्ने बेलामै मैले यो संविधान धोखा हो भन्दै हस्ताक्षर गरिन। जुन अहिले आएर सही साबितपनि भइसकेको छ । माओवादी जनयुद्ध र मधेस आन्दोलनलाई धोखा दिएर जारी गरिएको संविधान केवल धोखाको पुलिन्दा नै भएको अडानमा आँफु अहिलेपनि कायम रहेको साहको भनाई थियो ।उनले भने,‘ किनकि अहिलेको संविधानले जनयुद्ध र मधेस आन्दोलनका एजेण्डालाई आजसम्म पनि सम्बोधन गर्न सकेको छैन ।’
देशमा लोकतन्त्रका नाममा पुराना दलहरुले पालैपालोमा सत्तामा बसेर देश र जनतालाई लुट्ने काममात्र गरिरहेको साहले आरोप लगाए ।उनले भने,‘ यो मुलुकमा वास्तविक लोकतन्त्र आएकै छैन ।लोकतन्त्र हात्तीको देखाउने र चपाउने दाँत फरक फरक भएजस्तै भएको छ ।मुलुकमा संघीयता आएको ८ वर्ष भइसकेको भएपनि त्यसको लाभ जनताले नपाएको उनको कथन थियो । उनले भने,‘ संघीयता गलत होइन तर यहाँ यसको दुरुपयोगमात्र भइरहेको छ । यसको लाभ शासकले मात्र लिइरहेका छन् ।’
त्यसकारण देश र जनतालाई लुट्ने दल र नेताहरुलाई जनताले पहिचान गरेर नखेदेसम्म मुलुक समृद्ध बन्न नसक्ने उनले बताए ।

