काठमाडौं,४माघ:भारत र अफगानिस्तानबीचको तेस्रो टी-२० खेलमा भारतले रोमाञ्चक रूपमा जित निकालेकाे छ।अफगानिस्तानलाई दोस्रो सुपरओभरमा पराजित गर्दै भारतले सिरिज ३-० ले क्लिन स्विप गरेकाे हाे।
बैंगलोरमा टस जितेर पहिले ब्याटिङ गर्दै भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो। जवाफमा अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो।
पहिलो सुपरओभरमा बराबरी भएपछि दोस्रो सुपरओभरमा भारतले खेल आफ्नो पक्षमा पारेको हाे।
यसअघि शृंखलाको पहिलो दुई खेलमा शून्य रनमा आउट भएका भारतीय कप्तान रोहित शर्माले १ सय २१ रनको अविजित इनिङ खेले। यो इनिङसँगै उनले धेरै कीर्तिमान आफ्नो नाममा पारे।
उनी टी-२० अन्तर्राष्ट्रियमा ५ शतक बनाउने पहिलो क्रिकेटर बनेका छन्। उनले भारतका लागि रिंकु सिंहसँग १ सय ९० रनको उच्च साझेदारी गरे।
त्यस्तै, रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कप्तानसमेत बने। रोहितले इंग्ल्याण्डका पूर्व एकदिवसीय विश्वकप विजेता कप्तान इओन मोर्गनको कीर्तिमान तोडेका हुन्।
मोर्गनले कप्तानका रूपमा ८६ छक्का प्रहार गरेका थिए। रोहितले अफगानिस्तानविरुद्ध कुल ८ छक्का र यस फर्म्याटमा ९० छक्का प्रहार गरेका छन्।
रोहित टी-२० सर्वाधिक शतक बनाउने खेलाडी
टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतक बनाउने खेलाडीको कीर्तिमान यसअघि उनी अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र भारतका सूर्यकुमार यादव समान ४-४ शतक बनाउने खेलाडीका रूपमा रहेका थिए। तर उनले म्याक्सवेल र यादवलाई पछि पार्दै सर्वाधिक शतक प्रहार गर्ने एक्लो खेलाडी बने।
पाकिस्तानका बाबर आजमले टी-२० मा ३ शतक प्रहार गरेका छन्। त्यसो त सर्वाधिक टी-२० रन स्कोरर विराट कोहलीले पनि आफ्नो करिअरमा एक मात्र शतक बनाएका छन्।
रिन्कुसँग पाँचौं विकेटका लागि विश्व कीर्तिमानी साझेदारी, नेपालको कीर्तिमान तोडियो
रोहित शर्मा र रिंकु सिंहले पाँचौं विकेटका लागि १९० रनको साझेदारी गर्दै नयाँ विश्व कीर्तिमान बनाए। यो फर्म्याटमा भारतका लागि यो सबैभन्दा ठूलो साझेदारी समेत हो।
यसअघि यो विश्व कीर्तिमान नेपालका नाममा थियो। नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले हङकङविरुद्ध गत २१ अक्टोबरमा मूलपानी मैदानमा १ सय ४५ रनको साझेदारी गर्दै विश्व कीर्तिमान बनाएका थिए।
विराटको कीर्तिमान भंग
रोहितले विराटको कीर्तिमान तोड्दै भारतीय कप्तानका रूपमा सर्वाधिक रन बनाउने कीर्तिमान आफ्नो नाममा पारे। कप्तानको रूपमा रोहितले भारतीय टोलीका लागि कुल १६४८ रन बनाएका छन्। यसअघि यो कीर्तिमान विराट कोहलीको नाममा थियो। विराटले कप्तानको रूपमा १५७० रन बनाएका छन्।
विश्व क्रिकेटमा यो फर्म्याटमा सर्वाधिक रनको कीर्तिमान आरोन फिन्चको नाममा छ। फिन्चले ७६ टी-२० खेलमा अष्ट्रेलियाको कप्तानी गर्दै कुल २२३६ रन बनाएका छन्। यद्यपि उनले सन्यास लिइसकेका छन्।
दोस्रो स्थानमा पाकिस्तानका बाबर आजम छन्। उनको कुल २१९५ रन छ। न्युजिल्यान्डका कप्तान केन विलियमसन उनको नजिक रहेका छन्। विलियमसनको २१२५ रन रहेको छ। रोहित चौंथो नम्बरमा छन्।साभार:देशसञ्चारबाट

