वीरगन्ज,२माघः वीरगन्ज–४ विर्तातिरको गणेशमान, विर्ता मन्दिर चोक वरपर पुग्दा प्रतिभालाई सामुदायिक कुकुरले घेर्न आइपुग्छन् । अनि, प्रतिभा र ती कुकुरबीचको माया ममताको सिलसिला सुरु हुन्छ । उनले सबै कुकुरलाई छोराछोरीसरह नाम दिएकी छन् । ‘खैरु’, ‘काली’, ‘सेते’ आदि । प्रतिभा भेटिएजतिका कुकुरलाई आमाले जस्तै माया मात्रै गर्दिनन्, खाना पनि खुवाउँछिन् । बटुवाहरू भने जिल्ल परेर कुकुर र प्रतिभाबीचको माया–प्रेमको दृश्य देखेर केहीबेर टोलाउँछन् ।
प्रतिभा कोइराला तीन वर्षयता पशु अधिकार र त्यसमा पनि विशेष गरी सडकमा बस्ने सामुदायिक कुकुरको संरक्षण गर्दै पशु अधिकारको क्षेत्रमा क्रियाशील छन् । उनले सुमार्ग बिन्दु आमा फाउन्डेसन नामक संस्था नै गठन गरेर काम गरिरहेकी छन् । पशुप्रेमीहरूले वीरगन्जमा खोलेको ‘एनिमल्स लवर’ क्लबमा पनि उनी सक्रिय छिन् । करिब २ दर्जन पशुप्रेमी उनको संस्था र क्लबमा सामेल भएर दैनिक आ–आफ्नो घर–टोल वरपर बस्ने सामुदायिक कुकुरलाई दैनिक खाना खुवाउने र तिनको स्वास्थ्यको ख्याल राख्ने काम गरिरहेका छन् । अचेल प्रतिभाको दैनिकी बिहान–बेलुका झन्डै १ सय सामुदायिक कुकुरलाई खाना खुवाउने, बिरामी कुकुरको नियमित उपचार गर्ने र दुर्घटनामा परी घाइते भएका कुकुरको विशेष उपचार र रेखदेख गरेरै बित्ने गरेको छ ।
प्रतिभाले खोलेको ‘कम्युनिटी डग लभर सोसाइटी’ सामाजिक सञ्जालमा हाल विश्वव्यापी रूपमा ४ लाख ७ हजार फलोअर्स पुगिसकेका छन् । पशु अधिकारको वकालत गरेर उनले सामाजिक सन्जालमा पोस्ट गर्ने भिडियोहरूले लोभलाग्दो लाइक र सेयर पाएर भाइरल बनिरहेका छन् ।
सडकमा जीवन बिताउने कुकुरलाई भुस्याहा भनेर सम्बोधन गरेको प्रतिभालाई पटक्कै मन पर्दैन । ‘भुस्याहा होइन हजुर सामुदायिक कुकुर भनौं न’ गैरसरकारी संस्थाहरूलाई परामर्श दिने फ्रिलान्सर कन्सल्ट्यान्टको पेसा गर्दै आएकी प्रतिभाले भनिन् । सुनसरीको इटहरीमा बुवाआमासँग बस्दा बाल्यकालदेखि नै घरपालुवा पशुहरूसँगको राम्रो हिमचिम थियो । बुवा कृष्ण कोइराला पनि पशुपन्छी भनेपछि हुरुक्कै हुन्थे । घरमा कुकुर, गाई र घोडाजस्ता जनावर पालिएको थियो । ‘कुनै शुभ काम गर्दा वा यात्रामा निस्कँदा बुवाले कुकुरलाई पूजा गर्ने परम्परा बसाल्नु भएको थियो, कुनै काममा सफलता मिलेपछि पुनः कुकुरको पूजा गरेर कुकुरलाई धन्यवाद दिनु हुन्थ्यो,’ प्रतिभा भन्छिन्, ‘मेरो मनमा बाल्यकालदेखि पशु प्रेमको भावना यसरी जड बनेर बसेको थियो, तर सामुदायिक कुकुरको हकमा मैले गम्भीरताका साथ काम गर्न थालेको ३ वर्ष भयो ।’
लकडाउनको समयमा उनले आफ्नी आमा बिन्दु कुमारीलाई १८ महिना वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गराउँदा उनी एक्लोपन अनुभव गर्थिन् । कठिन समयमा सबै आफन्त तथा इष्टमित्रले साथ छोडे पनि आफूले घरमा पालेका कुकुरले भने कहिल्यै साथ नछोडेकाले आफूले बाँकी जीवन पशु अधिकार र त्यसमा पनि विशेष गरी सामुदायिक पशुको हितमा समर्पित गर्ने प्रण लिएको प्रतिभा बताउँछिन् । ‘अन्ततः आमा बित्नु भो, म आमाबुवा बिना एक्लो जीवन बाँच्न थालें,’ उनले भनिन्, ‘अहिले घरमा पालेका ३ वटा कुकुर र समुदायमा बस्ने अन्य कुकुर मेरा परिवारका सदस्य भएका छन्, अब मेरो बाँकी जीवन कुकुरकै सेवामा समर्पित हुनेछ ।’
कुकुर मानव जातिले सबैभन्दा पहिले पाल्न सुरु गरेको जनावर भएको उनको भनाइ छ । मानिसको सबै भन्दा वफादार÷इमान्दार साथी समेत हुने तथा आइ पर्दा आफ्नो प्राणको आहुति दिएर पनि कुकुरले मालिकको ज्यान जोगाएका थुप्रै घटनासमेत देखेकाले कुकुरलाई जोगाएर मानिसले उसबाट धेरै लाभ समेत लिन सक्ने उनको बुझाइ छ । सामान्यतया सामुदायिक कुकुरले खाना नपाएर भोकले ग्रस्त भई आक्रोशित भएको अवस्थामा सर्वसाधारणलाई टोक्ने गरेको प्रतिभा बताउँछिन् । ‘कुकुरले बटुवा वा जोखिम भएकाहरूलाई चरम भोकले आक्रोशित भएको अवस्थामा रिस पोख्न मात्र टोक्ने गर्छ,’ उनी भन्छिन्, ‘यस बाहेक मोटरसाइकल वा साइकल चालकलाई लखेटेर झम्टनु वा टोक्नुको कारण उनीहरू वा उनीहरूका बच्चालाई ती सवारीले कुल्चेर मारेको वा घाइते बनाएको घटनाको भुक्तभोगी छन् भने बदलाको भावनाले पनि कोही पनि मोटरसाइकल वा साइकल चालकलाई कुकुरले झम्टन्छन् ।’
६ महिनाअघिसम्म सेल्टर नै सञ्चालन गरेर उनले ६० बढी घाइते, बिरामी तथा अपांग सामुदायिक कुकुरलाई वीरगन्जको विर्तामै आश्रयस्थल सञ्चालन गरेर आश्रय दिएकी थिइन् । तर स्थानीयको विरोध र बजेट अभाव भएपछि उक्त आश्रयस्थल अहिले बन्द छ ।
सामान्यतया उनले सामुदायिक कुकुरलाई चामलमा कुखुराको टाउको र खुट्टा हालेर पकाएको भात खुवाउँछिन् । व्यस्तता भएको दिन मात्रै कुकुरलाई बिस्कुट खुवाउँछिन् । आफ्नै कमाइको खर्चबाट उनले कुकुरको आहारा जुटाउँदै आएकी छिन् । महानगरका अन्य पशुप्रेमीहरूले पनि यसरी नै आ–आफ्नो लगानीमा घर वरपरका सामुदायिक कुकुरलाई खाना खुवाएर संरक्षण दिइ आएको उनले बताइन् ।
हाल वीरगन्ज महानगरको सहरी क्षेत्रमा मात्र १ हजारदेखि १ हजार ५ सय सामुदायिक कुकुर रहेको उनको प्रारम्भिक अनुमान छ । वीरगन्जका सामुदायिक कुकुरमा लुतो र पछिल्लो समय पाठेघर बाहिर निस्कने रोगको प्रकोप बढिरहेको उनले बताइन् । यस बाहेक वीरगन्जमा कुकुर दुर्घटनामा परी मर्ने वा घाइते हुने, कुकुरलाई कुट्ने, धपाउनका लागि तातो पानी तिनको शरीरमा छर्किदिने, घरपालुवा कुकुर बूढो भएपछि सडकमा ल्याएर छोड्ने र सामुदायिक कुकुरलाई विष खुवाएर मार्ने समस्या पनि रहेको उनले बताइन् ।
उनको संस्थाले विभिन्न संघसंस्थासँगको सहकार्यमा गत वर्ष वीरगन्जका १ हजार ५ सय सामुदायिक कुकुरलाई एन्टिरेबिज भ्याक्सिन दिएको र यस वर्ष पनि वीरगन्ज र जितपुरका ३ सय ६० कुकुरलाई यो भ्याक्सिन दिइसकेको उनले बताइन् । वीरगन्जको सहरी क्षेत्रको सडकमा घरपालुवा तथा सामुदायिक कुकुरले दिशापिशाब गर्ने प्रवृत्ति रहेकाले यहाँका कुकुरका लागि विभिन्न स्थानमा शौच गर्ने निश्चित स्थान निर्धारण गर्न आवश्यक रहेको प्रतिभा बताउँछिन् ।
बढ्दो सहरीकरण र एकल परिवारको अवधारणाका कारण कतिपय परिवारमा वृद्धवृद्धा बुवाआमा एक्लै बस्नु पर्ने स्थिति सिर्जना भइसकेको र यस्तो अवस्थामा घरपालुवा वा सामुदायिक कुकुरसँगको सामीप्यले उनीहरूको एक्लोपनको धेरै हदसम्म अन्त्य हुने प्रतिभाको बुझाइ छ । ‘एक्लोपन र तनावका कारण कतिपयले डिप्रेसनको सिकार हुनु परेको छ, कतिपयलाई मुटु र मधुमेह आदि रोग लागेको छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा एक्लोपन हटाउन र तनाव कम गर्न कुकुरको साथले धेरै सहयोगी भूमिका खेल्न सक्छ ।’
विर्ता निवासी सजल श्रेष्ठ प्रतिभा कोइरालाको कुकुर–प्रेम उदाहरणीय रहेको बताउँछन् । ‘उहाँको सामुदायिक कुकुरप्रतिको माया, प्रेम र व्यवहार अनुकरणीय छ,’ उनी भन्छन्, ‘आफ्ना पीडा र भावना अभिव्यक्त गर्न नसक्ने जनावरलाई यसरी नियमित रूपमा मातृ वात्सल्य दिई राख्नु साँच्चै नै तारिफयोग्य काम हो, उहाँको कामले स्थानीयको पनि सामुदायिक कुकुरप्रतिको नकारात्मक भावना र व्यवहारमा परिवर्तन आउँदै गएको छ ।’ शंकर आचार्य/कान्तिपुर