वीरगन्ज,२९पुष: नेशनल ईन्फोटेक (एनआई) कप टी-२० क्रिकेटमा आइतबार भएकाे दाेस्राे खेलमा नेशनल एकेडेमी विजयी भएको छ । वीरगन्जस्थित नारायणी रंगशालाकाे क्रिकेट मैदानमा भएकाे खेलमा नेशनल एकेडेमीले वीरगन्ज कलेजलाई ४ विकेटले पराजित गरेको हो ।
९७ रनको लक्ष्य नेशनल एकेडेमीले १३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्याे ।उसका लागि आविदबाबु ठकुरीले ३४ बलमा ८ चौका प्रहार गर्दै ४७ रन बनाए । शिवचन्द्र प्रसादले १० रन जोडे ।
बलिङतर्फ वीरगन्ज कलेजका रामप्रवेश पण्डितले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । मुकेश कुमार साहले ४ ओभरमा१८ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वीरगन्ज कलेजले १९.३ ओभरमा सबै बिकेट गुमाएर ९६ रन मात्र बनाएको थियाे ।उसका लागि आदित्य पासवानले २४ बल खेल्दै २ चौकाको मद्धतमा २० रन बनाए । आकाश यादवले २३ बलमा १९ रन जोडे भने सन्देश बैठाले २ चौकाको मद्धतमा ११ रन बनाए ।
बलिङतर्फ नेशनल एकेडेमीका रोशन कुमार पटेल र विशाल कुमार गुप्ताले समान ३/३ विकेट लिए ।सन्नी कुमार कलवारले २ विकेट लिए ।

