Madhes Khabar
खेलकुद

अदालतबाट दोषी ठहरिएपछि स्वतः राष्ट्रिय टिमबाट अलग भए सन्दीप लामिछाने

फाइल तस्बिर।

काठमाडौं,१५पुष:काठमाडौं जिल्ला अदालतले बलात्कारमा दोषी ठहर्‍याएका सन्दीप लामिछाने राष्ट्रिय क्रिकेठ टिमबाट स्वतः अलग भएका छन् । नेपाल क्रिकेट संघ क्यानले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् ।

अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्‍याएको थियो । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौँ जिल्ला अदालतले सजाय तोक्ने छ । यद्यपि सन्दीपले जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।

जेल नपरे पनि सन्दीपले नैतिक र कानुनी रूपमा राष्ट्रिय टिमबाट खेल्न नमिल्ने नेपाल क्रिकेट सङ्घ स्रोतले बतायो । यद्यपि गम्भीर अभियोग प्रमाणित भएका खेलाडीले राष्ट्रिय टिमबाट खेल्न पाउने वा नपाउनेबारे स्पष्ट कानुनी व्यवस्थाको भने अभाव छ ।

 

‘अब यो फैसला कायम रहुन्जेलसम्म उहाँले राष्ट्रको प्रतिनिधित्व गरेर खेल्ने अवस्था हुँदैन,’ क्यान उच्च स्रोतले भन्यो, ‘उहाँ आफैँ ब्याक भइसक्नुभएको छ ।’

सन्दीपले शनिवार वीरगन्जमा भएको प्रो क्लब च्याम्पियनसिपको फाइनल खेलबाट पनि हात झिकेका थिए । उक्त प्रतियोगितामा पर्सा ११ को नेतृत्व गरेका सन्दीपले टिमलाई फाइनलमा पुर्‍याए पनि अन्तिम खेलमा उनी अनुपस्थित भएपछि पर्सा ११ ले पराजय व्यहोर्नु पर्‍यो ।

सन्दीपविरुद्ध जाहेरी दर्ता भए लगत्तै उनलाई निलम्बन गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले अदालतले गरेको फैसलापछि औपचारिक रूपमा केही बोलेको छैन । क्यान सन्दीपबारे कुनै निर्णय नलिने र फैसला कायम रहुन्जेल टिममा नराख्ने मनस्थितिमा देखिएको छ ।

क्यानका एक जिम्मेवार पदाधिकारीले भने, ‘अब कानुनअनुसार हुन्छ । हिजोको दिनमा आरोप मात्र लागेको अवस्था थियो । अब क्यानले कुनै निर्णय गरिरहनु पर्छ जस्तो लाग्दैन । अब उहाँले पुनरावेदनमार्फत सफाइ पाउनेतिर ध्यान दिनुपर्छ ।’

Related posts

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी

MadhesKhabar

भारतले नेपाललाई दियाे २०३ रनकाे चुनाैती

MadhesKhabar

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि फेरि भारतकाे सानदार जीत

MadhesKhabar

Leave a Comment