वीरगन्ज,१४पुषः वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख किशोरी रायले क्याम्पसलाई निजीकरण गर्न नदिने जिकिर गरेका छन् । वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा शनिबार आयोजित नवनियुक्त क्याम्पस प्रमुखको स्वागत तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै रायले क्याम्पसको विषयमा छरिएका विभिन्न भ्रमलाई चिर्ने बताए ।
उनले भने, ‘हामी विधि र विधानमा आधारित रहेर काम गर्छौ । क्याम्पसलाई समुदायले अपनत्वको आभास दिलाउनेमा कुनै कसर बाँकी छोड्ने छैन ।’
हरि खेतान बहुमुखी क्याम्पसले सधैँ जस्तै शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने लक्ष्यका साथ पठनपाठन गराउँदै आएको रायको भनाई छ । आफूलाई विश्वास गरी सञ्चालक समितिले दिएको जिम्मेवारी इमानदारीपूर्वक बहन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । क्याम्पसको सुधार गर्ने कार्यबाट विमुख भएमा त्यही दिन राजीनामा दिने पनि उनले बताएका छन् ।
क्याम्पस सञ्चालक समितिका सदस्य डा. राम अवतार खेतानले उद्देश्य अनुरूप क्याम्पसलाई सञ्चालन गर्न नवनियुक्त क्याम्पस प्रमुख रायसंग आग्रह गरे । उनले भने, ‘यो क्याम्पस बिना स्वार्थ विशुद्ध रूपमा गरिब विपन्न विद्यार्थीहरू उच्चशिक्षाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले खोलिएको हो । त्यो उद्देश्यलाई पूरा गर्न राम्रोसँग सञ्चालन गर्नुहोस्, हामीलाई कुनै नाफा चाहिएको छैन ।’ साथै उनले सञ्चालक समितिकै सदस्यहरूका सन्तानलाई पढ्नका लागि निःशुल्क हुनुपर्ने व्यवस्था गर्न पनि सुझाव दिए ।
सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले क्याम्पसलाई नवक्याम्पस प्रमुखले विधि विधानमा आधारित रहेर सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा क्याम्पसका प्राध्यापक रामप्रसाद चापागाईँले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सञ्चालक समितिका सदस्य डा. राम अवतार खेतानकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका साथै पत्रकारहरुकोृपनि उपस्थिती थियो ।कार्यक्रमको सहजीकरण क्याम्पसका शिक्षक दिलीप सिंहले गरेका थिए ।

