प्रमोद यादव
पर्सा,२०मंसिरः पर्साको ग्रामीण भेगबाट प्रहरीले जंगलबाट तस्करी गरि ल्याइएको सात थान सालको गोलीया काठ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका वडा नम्बर १ कोइलाभार टोलमा पराल भित्र लुकाएर राखिएको अवस्थामा सात थान सालको गोलीया काठ बरामद गरेको हो ।
मंगलबार बेलुकी साढे ७ बजेको समयमा कोइलाभार टोलमा परालको थुप्रोभित्र लुकाएर राखिएको गोलीया काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरीले जानकारी दिए ।
उनका अनुसार ४० इन्च मोटाई र ७ फिट लम्बाइको गोलीया एक थान, ३५ इन्च मोटाई र ४ फिट लम्बाइको गोलीया २ थान तथा ३० इन्च मोटाई र ४ फिट लम्बाइको गोली ४ थान प्रहरीले बरामद गरेको हो ।बरामद गोलीया काठ थप अनुसन्धान तथा कारबाहीका लागि सब डिभिजन वन कार्यालय सखुवनियामा बुझाइएको प्रहरी निरीक्षक केशरीले बताए ।