वीरगन्ज,०८बैशाखःवीरगन्ज महानगर क्षेत्रमा थप सिसिटिभी क्यामेरा जडान र त्यसको व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
गत पुष १५ मा वीरगन्ज महानगरपालिका, सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबीच वीरगन्जमा सिसिटिभी क्यामेरा सञ्जाल विस्तारका लागि त्रिपक्षीय सम्झौता भएको थियो ।उक्त सम्झौता पत्रमा पावर हाउस चोकदेखि उत्तर र पश्चिम तर्फको सडक र टोलका साथै जनघनत्व बढी भएका टोलमा थप ८० वटा सिसिटिभी क्यामेरा जडान गरिने उल्लेख थियो ।
थप सिसिटिभी क्यामेरा जडानका लागि वीरगन्ज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने,अपुग रकम जोहोको लागि सेफर वीरगन्जले बैंक तथा वित्तिय संघसंस्थासंग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय पर्साले जडान गरिएका सिसिटिभी क्यामेराको कन्ट्रोल रुमका साथै रेखदेखको जिम्मा लिने बुदाँपनि उक्त सम्झौता पत्रमा उल्लेख गरिएको थियो ।
त्यहि सम्झौता अनुसार सेफर वीरगन्ज र वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको आग्रह र पहलमा सोमबार वीरगन्जमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले १७ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएका हुन् । महानगरका मेयर सिंहले सुरक्षित वीरगन्ज बनाउने अभियानमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई गरेको आह्वान अनुरुप बैंकहरुले उक्त सहयोग उपलब्ध गराएका हुन् ।
सोमबार वीरगन्ज महानगरपालिकाको कार्यालयमा बैंकहरुले उपलब्ध गराएको उक्त रकम मेयर सिंहको रोहबरमा सेफर वीरगन्जका संयोजक मनोज दासलाई हस्तान्तरण गरिएको हो । हालसम्म विभिन्न १६ वटा बैंकले सहयोग उपलब्ध गराएको बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यले बताए ।
उनका अनुसार हालसम्म नबिल बैंकले सबै भन्दा बढी ३ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै हिमालयन बैंक, नबिल बैंक, ग्लोबल आईएमई,एभरेष्ट बैंक , लक्ष्मी सनराइज बैंक, सिटिजन बैंक, नेपाल एसबीआई बैंक,साननिमा बैंक,माछापुच्छे बैंक,सिद्धार्थ बैंक,कुमारी बैंक, एनएमबी बैंक,प्रभु बैंक, नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकले १/१ लाख रुपैयाँ तथा प्राइम कमर्शीयल बैंकले ७५ हजार रुपैयाँ उपलब्ध गराएको आचार्यले जानकारी दिए । बाँकी बैंकहरुबाट पनि चाँडै सहयोग उपलब्ध हुने उनले बताए ।
सुरक्षा प्रविधिको प्रयोगद्वारा वीरगन्जलाई सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान प्रेरणादायक भएको महानगरका मेयर सिंहले बताए ।महानगरपालिकाको पहल तथा सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगन्जका विभिन्न स्थानमा थप नयाँ सिसिटिी क्यामेरा जडान गरिने मेयर सिंहले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा सहभागी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सिसि क्यामेराको उल्लेखनीय सहयोग रहने भएकाले महानगरका हरेक चोक तथा सडकमा सिसिटिभी क्यामेराको सञ्जाल विस्तार गर्न रहेको बताए ।

