Madhes Khabar
खेलकुद

नेदरल्याण्ड्स ९० मै अलआउट भएपछि अष्ट्रेलियाको कीर्तिमानी जित

काठमाडौं,८कार्तिक : भारतमा जारी आइसिसि विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्याण्ड्समाथि ३०९ रनको कीर्तिमानी जित हात पारेको छ ।

यो विश्वकप क्रिकेटमै अहिलेसम्मको ठूलो अन्तरको जित हो ।

ओडीआई क्रिकेटको भने यो दोस्रो ठूलो अन्तरको जित हो । सबभन्दा ठूलो अन्तर (३१७ रन)को जितको रेकर्ड भारतको नाममा छ । १५ जनवरी २०२३ मा भएको खेलमा ३९० रन बनाएको भारतले श्रीलंकालाई ७३ रनमै अलआउट गरेको थियो ।

एकदिवसीय विश्वकपमा भने ठूलो अन्तर (२७५ रन) को जितको रेकर्ड अष्ट्रेलियाकै नाममा थियो । २०१५ को विश्वकपमा ४१७ रन बनाएको अष्ट्रेलियाले अफगानिस्तानलाई १४२ रनमा अलआउट गरेको थियो ।

बुधबार भारतको दिल्लीमा ग्लेन म्याक्सवेलको कीर्तिमानी शतक अनि डेभिड वार्नरको शतकको मदतमा अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३९९ रन बनायो ।

अनि नेदरल्याण्ड्सलाई मात्र २१ ओभरमा ९० रनमा अलआउट गर्‍यो । उसका विक्रमजित सिंहले सर्वाधिक २५ रन बनाए ।

नेदरल्याण्ड्सलाई सस्तैमा अलआउट गर्ने क्रममा अष्ट्रेलियाका एडम जाम्पाले ३ ओभरमा १० रन खर्चिएर ४ विकेट लिए भने मिशेल मार्शले २ तथा मिचेल स्टार्क, जोस ह्याजलउड र पेट कुमिन्सको नाममा एकएक विकेट रह्यो ।

म्याक्सवेलको कीर्तिमानी शतक

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो विकेटका सुरुमै गुमाएको थियो । मिशेल मार्श मात्र ९ रनमा आउट भएका थिए, जतिबेला टिमको स्कोर २८ रन मात्र थियो ।

तर वार्नरले स्टिभ स्मिथसँग मिले पारी सम्हाले । दुबैले दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरे ।

स्मिथ ७१ रनमा आउट भए । चौथो नम्बरमा आएका मार्नस लाबुशेनले अर्को महत्वपूर्ण पारी खेले । वार्नरसँग ८४ रनको साझेदारी गरेका लाबुशेन व्यक्तिगत ६२ रन बनाएर पभेलियन फर्किए । ३९औं ओभरको तेस्रो बलमा वार्नर २२औं ओडीआई शतक पुरा गरे । त्यसपछि अष्ट्रेलियाले लगातार २ विकेट गुमायो ।

पावर प्ले सुरु गर्नुअघि उसको स्कोर २६८/५ थियो । तर म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै ४४ बलमा १०६ रन बनाएपछि अष्ट्रेलियाले ३९९ रन बनायो ।

४० बलमा १०० रन पुरा गरेका म्याक्सवेलले विश्वकपमा सबभन्दा कम बलमा शतकको रेकर्ड बनाए । यसअघि दक्षिण अफ्रिकाका एडिन मार्करमले श्रीलंकाबीच ४९ बलमा शतक पुरा गरेका थिए । मार्करमको रेकर्ड म्याक्सवेलले १८ दिनमै तोडे ।साभार:अनलाइनखबरबाट

Related posts

एनपीएलमा चितवनको लगातार दोस्रो जित, पोखराको लज्जास्पद हार

MadhesKhabar

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो फूटसल प्रतियोगिताको उपाधी

MadhesKhabar

कम्तिमा १०० दिनसम्म पक्राउ पर्दैनन् सन्दीप लामिछाने

MadhesKhabar

Leave a Comment