Madhes Khabar
धर्म/संस्कृति

रौतहट : देवी स्थानमा जमरा चढाएपछि नागाबाबाले तोडे समाधि

रौतहट,७कार्तिकः रौतहटको कटहरिया बजार स्थित बौधीमाताको मन्दिर छेउमा घटस्थापनाको अवसर पारेर निराहार समाधि बसेका नागा बाबाको जिउमाथि उम्रेको जमरा देवी स्थानमा चाढाएपछि उनले समाधि तोडेका छन्। विधिवत् रूपमा ब्राह्मणद्वारा पूजा गरेर गत असोज २८ गते दिउँसो नागाबाबा कटहरिया स्थित मन्दिर छेउमा खनिएको खाडलमा समाधि बसेका थिए।

नागाबाबा त्यही दिनदेखि पानीसमेत नखाएर त्यही खाडलमा निराहार बसेका थिए। उक्त अवधिमा नागाबाबा शौच समेत गरेका छैनन्। उनको जिउमाथि माटो हालेर त्यसमाथि राखिएको जौ जमराको रूपमा उम्रिसकेको छ। त्यहाँ उम्रेको जमरा आज मंगलबार देवी स्थानमा चढेपछि उनले समाधि तोडेका हुन्।

स्थानीय समाजसेवी छोटेलाल मिश्र, रामबाबु जैसवाल, गौरीशंकर यादवले संयुक्त रूपमा नागाबाबालाई नरिवल पानी र दूध खुवाएर समाधि स्थल खाडलबाट बाहिर निकालेका हुन्।

नागाबाबा सुतेको खाडल माथि काठको फ्लैकहरु राखेर त्यसमाथि माटो हालेर राखिएको जौ अहिले जमराको रूप लिएको छ। लगातार १० दिनसम्म निराहार एक ठाउँमा सुनिरहनु निकै कठिन तपस्या भएको स्थानीयहरूले बताएका छन्। नागाबाबा बसेको स्थानमा उनको अवस्था २४ औँ घण्टा रेखदेख गर्न स्थानीयले प्रेमलाल ठाकुर सहित दुई जना मानिसको जिम्मा दिएका थिए।

नागाबाबा समाधि बसेर जिउमाथि जमरा उमारेको यो २५ औँ पटक भएको उनले बताएका छन्। यस अघि रौतहटको सुकदेव चौक, गरुडा, शिवनगर, सर्लाहीको बरहथवा, भगवतिपुर, बलुवा मन्नपुर, बारा र पर्सा जिल्लाको विभिन्न ठाउँका साथै भारतको ज्वालामाई मन्दिर, काटरामाई मन्दिरमा दुर्गा पूजाको अवसर पारेर समाधि बसी सफलता पूर्वक जिउमाथि जमरा उमारी सकेको बाबाले जानकारी दिएका छन्। समाधि बसेपछि बौधिमाई मन्दिरको प्राङ्गणमा बाबालाई हेर्न आउने भक्तजनहरूको भिड समेत बढेको छ ।

नागाबाबा नामले चिनिने ४५ वर्षीय नरेश राय यादवको जन्म रौतहटको माधव नारायण ३ दीपही गाउँमा भएको थियो। १० वर्षको उमेर देखिनै घर छोडेर साधु बनेको तथा पछिल्लो एक दशक देखि काठमाडौँ स्थित पशुपति मन्दिर छेउमा बस्दै आएको बताएका छन्। यसरी समाधि बसेर जमरा उमार्न कम्तीमा १० दिन अघि देखि अन्न नखाएको, चिया, पानी गाँजा खाने गरेको तथा दुई दिन अघिदेखि केही पनि नखाएर निराहार बस्दै आएको बाबाले जानकारी दिएका छन्। साभार : रातोपाटीबाट

Related posts

छठी माईलाई दिने अर्घको दउरा बाेकेर छठ घाटमा पुगे पूर्वमन्त्री यादव

MadhesKhabar

वीरगन्जको गीता मन्दिरमा श्रीकृष्ण जन्माष्टमी पर्बको रौनक (फोटो फिचर)

MadhesKhabar

आज विजया दशमी, टीकाको शुभसाइत बिहान ११:५३ बजे

MadhesKhabar

Leave a Comment