Madhes Khabar
राष्ट्रिय

ठाेरीबाट पर्सा निकुञ्जमा ल्याइएकाे नरभक्षी बाघकाे मृत्युु

पर्सा,२८असाेज: भदौको तेस्रो साता पर्साकाे ठोरी गाउँपालिका–५ सुवर्णपुरबाट डार्ट गरी ल्याइएकी नरभक्षी बघिनीको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुन्ज कार्यालय आधाभारमा कार्यालयमा अन्य दुई बाघसँगै राखिएकी उक्त बघिनी बिहीबार बिहान मृत फेला परेकी हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार, बिहीबार बिहान खोरको निरीक्षण गर्न पुगेका निकुञ्जकर्मीले उक्त बघिनीलाई मृत फेला पारेका थिए ।

‘बिहीबार बिहान करिब १ बजे उक्त बघिनी मरेको अनुमान गरेका छौं,’ उनले भने, ‘निकुञ्जमा ल्याउँदै गर्दा उक्त बघिनी घाइते र कमजोर थिई, सामान्यतया शारीरिक रुपमा कमजोर भएर जंगलमा सिकार गर्न नसक्ने भएपछि बाघ सहजै आहाराको प्रबन्ध गर्न जंगल बाहिरको नजिकको मानव बस्तीमा प्रवेश गर्छन्, यो बघिनी पनि आहाराकै खोजिमा मानव बस्तीमा पसेकी थिई ।’

 

शारीरिक अवस्था हेर्दा यो बघिनी ७ देखि ८ वर्षको रहेको भगतले बताए । ‘केही दिनयता उसले आहारा पनि कम खाइरहेको थियो, कमजोर र शिथिल पनि भइसकेको थियो,’ उनले भने, ‘सामान्यतया बाघ बिरामी भएपछि उसले आहारा कम खाने वा पूर्णरुपमा खान बन्द गर्छ, हामीले बुधबार साँझ उसको अवस्था देखेर उपचारको प्रयास पनि गरेका थियौं, तर सम्भव भएन ।’

मृत्युपछि निकुञ्जकै पशु चिकित्सकले पोष्टमार्टम गरी निकुञ्ज कार्यालय परिसरमा उक्त बघिनीलाई गाडिएको थियो । यो बघिनीले सुवर्णपुरमा एक पुरुषको ज्यान लिएको थियो ।

एउटा बघिनी मरेपछि निकुञ्ज कार्यालयको खोरमा अब दुई वटा बाघ रहेका छन् । २०७९ चैत २२ गते ठोरी गाउँपालिका–५ बाटै उद्धार गरी ल्याइएको बाघ र चितवनमा असार २३ गते उद्धार गरी ल्याइएको अर्को बाघ गरी हाल यहाँ दुई बाघ छन् ।

एउटा बाघलाई दैनिक ५ किलो भैंसीको मासु खान दिइन्छ । एउटा बाघको आहारामा मात्र दैनिक ६ हजार रुपैयाँ खर्च भइरहेको छ । त्यसबाहेक ३ कर्मचारी पनि यी बाघको स्याहारमा खटिएका छन् ।

पर्सा राष्ट्रिय निकुन्जमा वयस्क बाघको संख्या ४१ पुगिसकेको छ । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासको कारण बर्सेनि बाघको संख्या बढ्दै गएको हो । १२ वर्ष अघिसम्म पनि निकुञ्जमा ३ वटा मात्र बाघ थिए । गत वर्ष सार्वजनिक बाघ गणनाको पछिल्लो नतिजा अनुसार निकुञ्जमा ४१ वयस्क बाघ रहेका छन् ।

पछिल्लो एक दशकयता नेपालमै बाघको संख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । हाल नेपालमा ३ सय ५० वटा जंगली बाघ रहेकोमा तीमध्ये डेढ दर्जन विभिन्न निकुन्जको खोरमा रहेका छन् ।साभार:कान्तिपुरबाट

Related posts

परवानीपुर गाँउपालिका अध्यक्षमा एमालेका रामक्षेत्री पटेल निर्वाचित

MadhesKhabar

स्टुडेन्ट भिसामा आएर नेपालमा मुस्लिम धर्मको प्रचार गर्ने इन्डोनेसियाका ३ महिला पक्राउ

MadhesKhabar

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा गर्ने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment