Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा: उपभोक्ता समितिकाे बदमासीले ओरिया खाेलाकाे झाेलुंगे पुल चार वर्षदेखि अलपत्र

वीरगन्ज,२८असाेज: काम जिम्मा लिएर पूरा नगर्ने उपभोक्ता समितिले पेस्की रकम पनि फिर्ता नगरेपछि पर्साको धोबिनी गाउँपालिका-१ घोरदउरा टोलस्थित ओरिया खोलामा झोलुंगे पुलको योजना चार वर्षदेखि अलपत्र भएको छ ।

झाेलुंगे पुलनिर्माणका लागि ४ वर्षअघि नै उपभोक्ता समितिले दुई पटक गरी ४४ लाख रुपैयाँ पेस्की लिइसकेको छ । दुइटा पिलर मात्र राखेको समितिलाई न निर्माणमा चासो छ न त लगेको पैसा फिर्तामा।

काम सकाउन पटक-पटक पत्राचार गरे पनि उपभोक्ता समितिले चासो नलिएको धाेबिनी गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा पुल निर्माणका लागि गाउँपालिकाले ९५ लाख ९७ हजार रुपैयाँमा ८ महिनाभित्र निर्माण सम्पन्न हुने गरि उपभोक्ता समितिसँग सम्झौता गरेको थियो ।

हालसम्म करिब ८ लाख रुपैयाँको मात्र निर्माण कार्य गरेको समितिको खाता भने रित्तो छ । गाउँपालिकाको लेखा शाखाका अनुसार उपभोक्ता समितिले २०७५/७६ मा २६ लाख र २०७६/७७ मा १८ लाख रुपैयाँ पेस्की लिएको थियो । झोलुंगे पुल निर्माणस्थलमा दुई वटा अधुरो पिलरमात्र छन् ।

ओरिया खोलामा पुल नहुँदा घोरदउराका बासिन्दा वर्षायाममा भारतको बाटो प्रयोग गरी नेपाली बजार पुग्ने गरेका छन् । घोरदउराका बासिन्दा अच्छेलाल ठाकुरले भारतीय गाउँ इनरवा, खनिया, दसौता हुँदै नेपाली गाउँमा जाने बाध्यता रहेको बताउँछन् । ‘वर्षातमा धरै समस्या हुन्छ,’ उनले भने, ‘४ वर्ष अगाडि नै पुल निर्माण सुरु भएको थियो । तर, सुरुमा काम भयो त्यसपछि ठप्प छ ।’

महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनले सम्झौता अवधिसम्म कार्य सम्पन्न नभएकाले लगेको पेस्की रकम फिर्ता असुल गर्न गाउँपालिका कार्यालयलाई निर्देशन दिएको थियो । सम्झौताअनुसार ८ महिनामा तयार हुनुपर्ने पुलका हालसम्म १० प्रतिशत पनि काम पुरा नगरेको महालेखाको प्रतिवेदनमा छ ।

‘सम्झौताअनुसार कार्य गर्न नसक्ने उपभोक्ता समितिलाई गाउँपालिकाले पेस्कीमाथि पेस्की उपलब्ध गराएको छ । समितिले समयमै काम गर्न नसक्ने कारण पहिचान गरी नियमानुसार समयमा काम नगरेका सुद समेत लगाइ असुल फर्स्यौट गर्नुपर्ने’ प्रतिवेदनमा उल्लेख छ ।

धोबिनी गाउँपालिकाले २०७८ मंसिर ९ मा उपभोक्ता समितिलाई काम पूरा भएको भए बिल भर्पाइ पेस गर्न वा सुदसमेत हुन आउने ५१ लाख ३८ हजार रुपैयाँ कार्यालयको बेरुजु खातामा दाखिला गरेको सक्कल बैंक भौचर पेस गर्न पत्राचार गरेको थियो । तर, समितिले न निर्माण नै अगाडि बढाएको छ , न त पैसा फिर्ता नै गरेको छ ।गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनले उक्त झाेलुंगे पुल निर्माणमा अनियमितता भएको बताए । ‘उपभोक्ता समितिलाई पटक पटक पत्राचार गरिएको छ,’ उनले भने, ‘काम नगरेपछि लिएको पेस्की गाउँपालिकामा दाखिला गर्नुपर्छ ।’

उपभोक्ता समितिका अध्यक्ष धोबनी– १ पिप्राका सुरेशप्रसाद कुर्मीले भने पेस्की रकमबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका छन् । गाउँपालिकाका तत्कालिन अध्यक्ष सुरेश कुर्मीका निकट मानिने लालबाबुले खाली चेकमा आफूसँग हस्ताक्षर गराइ लिएको समितिका अध्यक्ष सुरेशले बताएका छन् । ‘पेस्की रकमबारे कुनै जानकारी छैन्,’ उनले भने, ‘गाउँपालिकाबाट कति पेस्की भुक्तानी भयो र कति निकासा भयो त्यो बारेमा मलाइ कुनै जानकारी छैन् ।’

धोबिनी-२ भिखमपुरका स्थानीय युवा नेता सन्तोष पटेलले अनियमितता सम्बन्धमा सरोकारवाला निकायमा उजुरी गर्दा समेत कुनै सुनवाइ नभएको गुनासो गरे ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७(५) मा उपभोक्ता समिति तथा लाभग्राही समुदायबाट काम गराउँदा सम्झौता रकमको बढीमा एक तिहाइसम्म अग्रिम पेस्की दिन सक्ने व्यवस्था छ । तर, घोरदउरा ओरिया खोलामा झोलुंगे पुल निर्माण कार्यका लागि उपभोक्ता समितिसँग २०७५/७६ मा लागत अनुमान ९५ लाख ९७ हजारमा सम्झौता भई २६ लाख पेस्की भुक्तानी दिइएको थियो ।

पुनः आव २०७६/७७ मा काम नै नगरी १८ लाख भुक्तानी गरी गाउँपालिकाले ४४ लाख रुपैयाँ पेस्की उपलब्ध गराएको छ । नियमानुसार सम्झौता रकमको एक तिहाइ अर्थात् ३२ लाख रुपैयाँसम्म पेस्की दिन मिल्नेमा बढी पेस्की १२ लाख नियमसम्मत नभएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।
भुषण यादव/कान्तिपुर

Related posts

गढीमाई मन्दिर परिसरमा तयार हुदैं भव्य विवाहमण्डप एंव धर्मशाला

MadhesKhabar

प्रसौनी गाँउपालिकाको गाँउसभा विवादित , अध्यक्षले जबरजस्ति गरेको आरोप

MadhesKhabar

पोखरियामा प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै लोसपाले बुझायो ज्ञापनपत्र

MadhesKhabar

Leave a Comment