वीरगन्ज,१०असाेज: चीनमा जारी १९ औँ एसियाली खेलकुदको क्रिकेटतर्फ नेपालले विजयी सुरुवात गरेको छ । बुधवार बिहान भएको खेलमा मङ्गोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्व कीर्तिमानी जित हो । यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । उसले सन् २०१९ मा टर्कीलाई २५७ रनले हराएको थियो ।
पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको मङ्गोलियाले भने सम्झन लायक प्रदर्शन गर्न सकेन । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । उसका लागि दावासुरेन जमियांसुरेनले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसी, सन्दीप लामिछाने, अविनाश बोहराले दुई/दुई, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीले एक/एक विकेट लिए ।
त्यसअघि हांग्जाउमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो । योसँगै नेपालले टी–२० मा सर्वाधिक ठूलो लक्ष्य दिने विश्व कीर्तिमान बनाएको छ ।
यसअघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो । उसले सन् २०१९ मा आयरल्यान्डविरुद्ध २७८ रन बनाएको थियो । अब अफगानिस्तानको रेकर्ड नेपालले तोडेको छ ।
नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले विश्व कीर्तिमान शतकीय इनिङ खेले । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । कुशलले ३४ बलमै शतक बनाएका थिए ।
योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका छन् । यसअघि यो कीर्तिमान यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिक सुदेश विक्रम शेखरको नाममा थियो । यी तीनै ब्याटरले ३५ बलमा शतक बनाएका थिए ।
अब उनीहरूको रेकर्ड कुशलले तोडेका छन् । यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले । दीपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए ।
योसँगै दीपेन्द्र टी–२० मा सर्वाधिक छिटो अर्धसत्तक बनाउने ब्याटर बने । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले सन् २००७ मा इङ्गल्यान्डविरुद्ध १२ बलमा अर्धसत्तक बनाएका थिए ।
यस्तै, मङ्गोलियाविरुद्ध ओपनरद्वय कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे । मङ्गोलियाका लागि मुनगुन अल्तानखुयागसहित तीन बलरले एक/एक विकेट लिए ।
समूह चरणअन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ । एसियन गेम्समा हालसम्म दुई पटक क्रिकेट प्रतिस्पर्धा भएको छ ।
दुवै पटक प्रतियोगितामा भाग लिएको नेपालले क्वार्टर फाइनलसम्मको यात्रा मात्र गरेको छ । नेपाल सन् २०१० को क्वार्टर फाइनलमा श्रीलङ्का तथा २०१४ को एसियन गेम्स क्वाटर फाइनलमा अफगानिस्तानविरुद्ध पराजित भएको थियो ।
यस पटक पनि समूह चरणमा कमजोर टिमसँग प्रतिस्पर्धा गरिरहेकाले नेपालको क्वार्टर फाइनल यात्रा पक्काजस्तै छ । समूह विजेता बनेमा नेपालले अन्तिम चारमा भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामध्ये एक टिमको सामना गर्नेछ । हालै एसिया कप खेलेको नेपालले यस पटक एसियन खेलकुदमा पदक जित्ने लक्ष्य लिएको छ ।

