काठमाडौं,७ असोजः नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीको महासमिति बैठक मधेस प्रदेशमा गर्न प्रस्ताव गरेका छन् । कांग्रेसले यसअघि साउनमा बसेको बैठकबाटै आगामी मंसिर ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । बिहीबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकको तयारीबारे छलफल भइरहेको छ ।
महामन्त्री गगन थापाले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन सहितको प्रस्ताव पेस गरेका छन् । त्यसबारेको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले महासमिति बैठक मधेस प्रदेशमा गर्न प्रस्ताव गरेका हुन् ।
शुक्रबारको बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्य मधु आचार्यले महासमिति बैठक मधेस प्रदेशमा गर्नु उपयुक्त हुने बताए । ’यो पार्टीको महाधिवेशनपछिको अर्को महत्वपूर्ण सभा हो । यो पार्टी जीवनका लागिमात्रै होइन, अहिलेको देशको परिस्थितिका हिसाबले पनि निकै महत्वपूर्ण छ,’ उनले भने, ’त्यसकारण महासमिति बैठक ग्राउन्डमा गर्नु राम्रो हुन्छ । मधेस कांग्रेसको उर्वर थलो हो । महासमिति बैठक मधेसमै गरौँ ।’
अर्का केन्द्रीय सदस्य गोविन्द पोखरेलले पनि महासमिति बैठक मोफसलमा गर्नु नै उपयुक्त हुने बताए । ’पार्टीको महाधिवेशन काठमाडौँमा भयो । अब महासमिति बैठक काठमाडौं उपत्यकाबाहिर हुनु राम्रो हुन्छ,’ उनले भने, ’त्यसकारण यहाँ मधेसमा गर्नुपर्छ भन्ने कुरा उठेको छ, त्यो उपयुक्त हुन्छ ।’ साभार : ईकान्तिपुरबाट

