Madhes Khabar
शिक्षा

माग पुरा गर्न सरकार तयार भएपछि निजी विद्यालयहरुकाे आन्दोलन स्थगित

काठमाडौं ,२६साउन: निजी विद्यालयका सञ्चालकहरूले उठाएका माग सम्बोधन गर्न सरकार तयार भएको छ।

निजी विद्यालयका छाता संगठनहरूसँग काठमाडौंमा शुक्रबार भएको वार्तामा सरकार उनीहरूको माग सम्बोधन गर्न तयार भएको हो।

सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै निजी विद्यालयका छाता संगठनहरूले पूर्वघोषित आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छन्।

एन प्याबसनका अध्यक्ष पाण्डव हमाल, हिसानका अध्यक्ष रमेश सिलवाल र प्याबसनका अध्यक्ष डिके ढुंगानाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर माग सम्बोधनका लागि सरकार सकारात्मक भएपछि आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगन गरिएको जानकारी दिएका छन्।

सरकारले ल्याउन लागेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० को विरोध गर्दै निजी विद्यालयका छाता संगठनहरूले २८ साउनदेखि विद्यालय बन्दको घोषणा गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, शिक्षा सचिव सुरेश अधिकारी, कानुन सचिव दीपक शर्मासहितले निजी विद्यालयका छाता संगठनका अध्यक्षलगायतका पदाधिकारीहरूसँग वार्ता गरेका हुन्।

वार्ताका क्रममा निजी विद्यालयका सञ्चालकहरूले प्रस्तुत गरेका मागहरू तत्काल संशोधन गर्न सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त भएको एन प्याबसनका अध्यक्ष हमालले जानकारी दिए।

माग सम्बोधन गर्न सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त भएकोले तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको उनले बताए।

Related posts

वीरगन्ज नर्सिङ क्याम्पसमा मतगणना विवाद तत्काल सुल्झाएर पठनपाठन सुचारु गर्न नेविसंघको माग

MadhesKhabar

वीरगन्जको लक्ष्मीपुरमा रहेको सरकारी विद्यालयलाई १० सेट बेन्च–डेस्क सहयोग

MadhesKhabar

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक बन्नपनि सिकाउँदै ‘रोयल एकडेमी’

MadhesKhabar

Leave a Comment