
मधेसखबर
श्रावण १४ गते , आईतवारः नेवा देय् दबू बिरगंज महानगर समितिले वडा नम्बर ४ को कार्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शनिवार आयोजना गरीएको महिलाहरुको पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा ७४ महिलाले चेकजाँच गराएका हुन् । नारायणी अस्पतालको सहयोगमा संचालन भएको स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै बिरगंजकी समाजसेवीका अन्नपुर्ण मानन्धरले महिलाहरु स्वस्थ भए मात्रै परिवार र समाजको स्वास्थ्य सुधार हुनेमा जोड दिईन् । उनले नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सरले बिकराल रुप लिरहेकोले समयमै महिलाहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने कुरामा समेत जोड दिईन् ।
स्वास्थ्य शिविरमा चेकजाँचको क्रममा महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतको समस्या देखा परेको नारायणी अस्पतालकी स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. दिप्ती यादवले जानकारी दिईन् । पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग(भिआइए ) परीक्षण गराएका मध्ये १२ जनामा पाठेघर सम्बन्धी समस्या देखिएकोले थप उपचारका लागि नारायणी अस्पतालमा आउन सुझाव तथा आग्रह समेत गरीएको उनले बताईन् ।
शिविरमा नारायणी अस्पतालकी स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. प्रिती यादव, डा. दिप्ती यादव, डा. मिता महर्जनले लगायतका डाक्टरहरुले शिविरमा आएको महिलाहरुको चेकजाँच गरेका थिए ।
प्राय अधिकांश स्वास्थ्य शिविर खासगरी ग्रामीण भेगलाई लक्षित गरी आयोजना हुने हुँदा शहरी क्षेत्रमा समेत यसको आवश्यकतालाई मध्य नजर गर्दै बिरगंजमा स्वास्थ्य शिविरको आयोजना गरिएको नेवा देय दबू बिरगंज महानगर समितिका अध्यक्ष सत्यम खड्गीले जानकारी दिए । उनले पाठेघरमा हुने क्यान्सरको कारण महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै यही बिकराल समस्या केही न्यूनीकरण गर्ने उद्देश्यले शिविरको आयोजना गरीएको बताए ।

नारायणी अस्पतालकी प्रसुती गृहकी नर्सिङ्ग इन्चार्ज हेमा थापाले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको बिषयमा जानकारी गराएकी थिईन् । उनले गाउँघरमा महिलाहरु स्वास्थ्य अज्ञानताको कारण र शहरी क्षेत्रमा भने जानकारी भएर पनि चेकजाँचका लागि लापरवाही गर्ने गरेको तथा समय नभएको कारण यो रोगबाट पिडीत हुने गरेको बताईन् । थापाले यसबाट जोगिन बेलाबेलामा पाठेघरको चेकजाच गराई राख्न आग्रह समेत गरीन् ।
शिविरमा नारायणी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. चितरजन शाह, बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. सुरेन्द्र चौधरी लगायतको उपस्तिथी रहेको थियो । शिबिरमा उपचार पश्चात निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

