काठमाडौँ,१८असार: नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार सिंगापुरलाई ९७ रनले पराजित गर्यो । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । जवाफमा आएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।
नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । सोमबार भएको अर्को सेमिफाइनलमा घरेलु टोली मलेसियाले हङकङलाई ७८ रनले पराजित गर्यो । सिंगापुरले आक्रामक सुरुआत गरे पनि नेपाली स्पिनरले उनीहरुलाई अंकुश लगाएका थिए ।
ओपनर रोशन रविचन्द्रनले सर्वाीधक २४ रन बनाए । उनले ३७ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । कविर बेरिलाले ११ रन बनाए । प्रणव धानुका १४ रनमा अविजित रहे । उनले दुई चौका प्रहार गरेका थिए ।
नेपालबाट कृतिक कामतले ३ विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चे । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेन भट्टले १–१ विकेट लिए ।
नेपाल थाइल्यान्ड र मलेसियालाई पराजित गरि समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्स र इन्डोनेसियामाथि विजय हात पारेको सिंगापुर अन्तिम खेलमा हङकङसँग पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो ।साभार:इकान्तिपुर

