वीरगन्ज , २४ जेष्ठ: मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले दलितले अधिकार नपाएसम्म कुनै पनि पालिका समृद्ध नहुने बताउँदै यसका लागि कार्यपालिका सदस्यहरू नै जागरुक हुन आवश्यक रहेको पनि बताएका छन् ।
बारा र पर्साका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीहरुका लागि वीरगन्जको राणी सती धर्मशालामा आयोजित नेतृत्व विकास तालिमको बुधबार आयाेजित समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएका हुन् ।
मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागि यस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित सरोकार मञ्च नेपालले जनाएको छ ।
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दलित कार्यपालिका सदस्यहरूका कुरा सुनुवाइ नहुने भएकाले सबै एकजुट भएर अघि बढ्न सुझाव दिए । उनले यस्ता तालिम कार्यक्रमले दलित कार्यपालिका सदस्यहरूलाई आफ्ना हकअधिकारबारे जानकारी गराउने भएकाले मञ्चले आवश्यकताअनुसार सञ्चालन गरिरहेको जानकारी पनि दिए । उनले भने, दलित कार्यपालिका सदस्यहरू जति धेरै सक्रिय हुन सक्छन् दलित समुदायले अधिकार पाउने सम्भावना पनि उत्तिकै रहन्छ ।
कार्यक्रममा सहभागी दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीमध्ये धेरैले आफूहरूलाई अहिलेसम्म कसैले पनि यस्तो जानकारी नदिएकाले अन्योलमा परेको बताएका थिए । आफूहरूले पालिकाबाट पाउनुपर्ने सुविधा नपाएको, भूमिका के हो, काम के गर्ने भन्नेबारे कुनै तालिम नपाएको बताउँदै उनीहरूले दलित समुदायका लागि फाइदा पुग्ने कामका लागि पालिकाहरूले बजेट दिनसमेत आनाकानी गरेका गुनासो गरेका थिए ।
कार्यपालिका बैठकहरूमा आफ्ना कुराकाे सुनुवाइ नै नहुने, सुनिहाले पनि त्यसमा बजेट नछुट्याउने र छुट्याइहाले पनि दलित समुदायका कार्यपालिका सदस्यलाई जानकारी नै नदिइ त्यस्तो बजेट वडाध्यक्षहरूले आफैँ सञ्चालन गर्ने गरेकाे गुनासाे उनीहरूले सुनाएका थिए ।
उनीहरूले कार्यपालिका सदस्यहरूमा पनि दलित समुदायका प्रतिनिधिलाई हेपिने गरेको, पालिकाहरूले गरेका निर्णय हेर्न र पढ्नसमेत नदिने गरेकाले पनि आफूहरू अपमानित महसुस हुनुपरेको उल्लेख गरेका थिए ।
दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा आयोजना गर्ने क्रममा जेठ २२ देखि २४ गतेसम्म वीरगन्जमा आयोजना गरिएको हो । यसअघि सप्तरी र सिरहाका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि सिरहाको मिर्चैयास्थित होटल होलिडेमा, महोत्तरी र धनुषाको जनकपुर (मसला कटेल) मा तथा रौतहट र सर्लाहीको रौटहटस्थित होटल तराई इनमा सम्पन्न भइसकेको छ ।
दलित सरोकार मञ्च, नेपालद्वारा आयोजित यो तालिममा सञ्जालका २८ जना पदाधिकारी र दलित अगुवा १५ जनाको सहभागिता थियाे ।
तालिमको सहजीकरण प्रशिक्षकद्वय सोनालाल चौधरी र रघुनाथ लामिछानेले गरेका थिए । समापन कार्यक्रममा पत्रकार वृजलाल पासवानले आफ्नो अधिकार आफैँ लिने प्रतिबद्धतासहित यो तालिममा संलग्न भएकाहरूलाई धन्यवाद दिँदै आफूले सिकेको ज्ञानको भरपुर प्रयोग गर्न सुझाएका थिए ।