वीरगन्ज,५माघः पर्साको क्षेत्र नम्बर ३ बाट नेकपा एमालेले उम्मेदवारको टिकट दिएका मधेस प्रदेश सा सदस्य प्रमोद जयसवालले आफ्नो बारेमा मिथ्या आरोप लगाइएको र पाटीका जिल्लाका केहि नेताबाटै असहयोग गर्ने अवस्था देखिएकाले आँफु पछाडि हट्न बाध्य भएको बताएका छन् ।
गत शनिबार राति एमाले सचिवालयको बैठकले पर्सा क्षेत्र नम्बर ३ बाट जयुवाललई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णय सार्वजनिक भएसंगै सामाजिक सञ्जालमार्फत आफ्नो टिकटका बारे अनेक आरोप लगाउँदै टिकाटिप्पणी गरिएको र पार्टीको जिल्लाकै केहि नेताबाट पनि असहयोग हुने देखिएपछि आँफु उम्मेदवार बन्नबाट पछाडि हट्न बाध्य भएको भन्दै सोमबार राति उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
जयसवालले पार्टीले आफ्नो सट्टा योग्य नेतालाई उम्मेदवार बनाउने र ती उम्मेदवारलाई आँफुले इमान्दिरीपूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
जयसवाले सोमबार राति ११ः३० बजे फेसबुकमा यस्तो लेखेका छन् :
आदर्णीय क्षेत्रबासी तथा जन समुदाय,
नमस्ते!
मेरो उम्मेदवारी सम्बन्धमा हिजो देखि सृजना गर्न खोजिएको भ्रम सम्बन्धमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ।
हाम्रो गौरवशाली पार्टीको अस्ति माघ ३ गतेको केन्द्रीय सचिवालय बैठकको निर्णय अनुसार क्षेत्रका नागरिकमा मेरो राम्रो प्रभाव, ३ बर्षमा मेरो पहलमा हरेक वडाहरुमा भएका ऐतिहासिक विकास निर्माण कार्यहरु, मेरो व्यवहार, आचरण र पार्टी तथा जनता प्रतिको कर्तव्य निष्ट छवि जस्ता विषयहरुमा उच्च मुल्याकन गरी पर्सा क्षेत्र न. ३ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा मलाई छनौट गरेको निर्णय सार्वजनिक हुदा म असाध्यै खुशी भए। क्षेत्रबासी, क्षेत्रका नेता कार्यकर्ता र शुभेच्छुकहरुमा खुशीयाली थियो। पार्टी र मलाई यो लायक सम्झिने सबै प्रति हृदय देखि आभार प्रकट गर्न चाहन्छु।
सबै तिरबाट शुभकामना र बधाइ दिदै आएको फोनले म रातभरी निदाउन पाइएन। हिजो बिहान देखि आउने फोनहरुमा ३३ लाख÷ ६० लाख÷ १ करोड मा टिकट लिएको जस्ता अनेक फोन र सामाजिक सन्जाल मा यस्ता गलत र भ्रामक भाष्य निर्माण गर्न खोजियो जब कि म हाम्रो पार्टीको कुनै पनि तहमा मलाई उम्मेदवार बनाउन आफै अनुरोध गरेकै थिइन । प्रदेश सभा सदस्यको रुपमा मेरो कार्यकाल अझै लगभग २ बर्ष बाकी नै रहेकोले अन्य राम्रो बिकल्प हुदा सम्म मलाई अहिले उम्मेदवार नबनाउन अनौपचारिक भनाई सम्बन्धित ठाउमा राखेको थिए। जनताको चाहना भए र पार्टीले २ बर्ष पहिल्यै प्रदेश सभा छोडी उम्मेद्वार बन्न आदेश दिए पछि पनि नहट्ने भनेको थिए। नेकपा एमाले पैसामा टिकट बाड्ने पार्टी नभएको थाहा हुदा हुदै र म सकेसम्म प्रदेश सभा मै रहन इच्छुकले पैसा दिएको भ्रम फैलाउदा म दुखी भए। सफाई दिदा दिदै हैरान भए। अर्को तिर पार्टीका जिल्लाका केही अग्रज जिम्मेवार नेताज्यूहरुबाट मलाई एक कल फोन समेत आएन्। एक तिर झुठो भ्रम र अर्को तिर केहीको मेरो नाम प्रतिको असहमती बुझेर म प्रदेश मै रहनु नै ठिक होला भनेर पार्टीलाई अनुरोध गर्ने निर्णय गरे। प्रदेश र केन्द्रीय नेता समक्ष यस्तो कुरा गर्नु अघि केही जिम्मेवार साथी र शुभचिन्तकहरु सङ सल्लाह गरे र कारण सहित सम्बन्धित ठाउमा मलाई प्रदेश मै रहन दिन र अरु इच्छुक र जिल्लाका नेताज्यूहरुको चाहना अनुसारको उम्मेदवार लाई मौका दिए मेरो पुर्ण साथ सहयोग रहने इच्छा जाहेर गरी अनुरोध गरे। यसो गरे पछि फेरी अर्को पार्टीमा जान लाग्यो भनेर भ्रम फैलाउने कार्य भयो। आज फेसबुकमा मेरो बारेमा अनेक गलत शब्द, भ्रामक टिप्पणी र फोन अफ गर्यो भने झुठ स्टेटसहरु लेखेको देखेर छक्क परेको छु। आज सोमबार दिन भरी क्षेत्रबासी सङ भेटघाट र क्षेत्र कै केही गाउमा थिए।फोन खुल्ला छ, आएको प्राय सबै फोन उठाएको छु। यस प्रकारको भ्रम नफैलाउन आग्रह गर्दछु। आफ्नो कारणले हाम्रो जिल्लाका अग्रज नेताहरुको चित नदुखोस र मेरो कार्यकाल २ बर्ष बाकी नै रहेकोले अरुलाई मौका मिलोस भनेर आफू राजीखुशी नै पार्टीका अरु जो कोहीलाई मौका मिलोस भनेको हो। एमालेमा एक से एक क्षमतावान उम्मेदवारहरु रहेको र योग्य उम्मेद्वारले भोली मनोनयन दर्ता गराउनु हुने भएकोले अनावश्यक टिका टिप्पणी नगर्न अनुरोध गर्दछु। पार्टीबाट उम्मेदवारी दिनु हुने साथीलाई हाम्रो पुर्ण साथ सहयोग रहने छ। मनोनयन दर्ता गराउन एमाले पार्टी कार्यालय पोखरीयमा १०ः३० बजे उपस्थित हुन सबैलाई आग्रह गर्दछु।
जीतको अग्रीम शुभकामना।

