वीरगन्ज,२७पुसः पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा वीरगन्जमा शनिबार आयोजित रन फर युनिटी (एकताका लागि दौड) म्याराथनमा छात्रातर्फ वीरगन्ज–२३ की कल्सुन खातुन प्रथम भएकी छन् ।यस्तै वीरगन्ज–१४ की प्रिति पटेल द्वितिय र वीरगन्ज–११ की सरिता भूलले तृतिय भएकी छन् ।
प्रतियोगितामा छात्रतर्फ वीरगन्ज–१६ का अमरनाथ साह प्रथम ,बाराको कोल्हबीका रुपेश माझी द्वितिय र कोल्हबीकै रोहन माझी तृतिय भएका छन् ।
वीरगन्ज महानगरपालिकाको सहयोगमा इम्प्रुभीङ् वीरगन्जले आयोजना गरेको ५ किलोमिटर दूरीको म्याराथनमा छात्रातर्फ प्रथम हुन सफल वीरगन्ज–२३ की कल्सुनलाई कप र मेडलसँगै टेक्नो कम्पनीको एक थान मोबाइल सेट तथा निखिल ज्वेलर्सका तर्फबाट नगद ५ हजार पुरस्कार प्रदान गरियो । यस्तै उनले तीन महिनासम्मका लागि व्लर्डलिंकबाट निःशूल्क वाईफाई सेवापनि प्राप्त गरेकी छिन् ।
छात्रातर्फ द्वितिय भएकी वीरगन्ज– १४ की प्रितिलाई टेक्नोको १ थान मोबाइल फोनसँगै रोट्रयाक्ट क्लबका तर्फबाट नगद दुई हजार रुपैयाँ तथा वल्र्डलिंकबाट बोट स्पिकर तथा तृतीय भएकी सरितालाई टेक्नाको एक थान स्मार्ट मोबाइल फोन, रोट्रयाक्ट क्लबका थर्फबाट नगद एक हजार रुपैया र व्लर्डलिंकबाट एअरपड्स प्रदान गरियो ।यता छात्रतर्फ प्रथम, द्वितिय र तृतीय भएका छात्राहरुलाईपनि विजेता छात्राहरु सरहकै पुरस्कार प्रदान गरिएको थियो ।
वीरगन्जको शंकराचार्य प्रवेशद्वारबाट सुरु भएको म्याराथनमा चार हजार छात्रछत्राहरु सहभागी भएका थिए । म्याराथनको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । म्याराथनको समापन समारोहमापनि मेयर सिंहले नै विजेता छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
सबै धर्म,जात समुदाय र धर्मबीच एकताको सन्देश दिन वीरगन्जमा पाँचौ पटक रन फर युनिटी (एकताका लागि दौड) म्याराथन आयोना गरिएको इम्प्रुभीङ् वीरगन्जका अध्यक्ष सरन गुप्ताले जानकारी दिए ।
उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,प्रहरी उपरीक्षक कुमोध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सानो पाइलाका संस्थापक कञ्चन झा,कांग्रेस नेतृ सुष्मा तिवारी लगायतकाकोपनि सहभागिता थियो ।