Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

आज यमपञ्चककाे दाेस्राे दिन लक्ष्मी पूजा मनाइदैं

वीरगन्ज,२५कार्तिक : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुर तिहार र लक्ष्मी पूजा दीपमालिका परेको छ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आजका दिन घर आँगन सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

प्रमुख रात्रीमध्ये एक हो आजको रात । आजको दिन लक्ष्मी माताको बास होस् भनेर घरको आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरेको कोठासम्म लिपपोत गरी चामलको पिठो र अबिरले लक्ष्मी माताको पाइला बनाइन्छ ।

माता लक्ष्मीको पाइलासँगै केराको सुत्ला अथवा माटाको पाला राखिन्छ । सबैको घरमा दीयो, मैनबत्ती र झिलीमिली बत्ती बालेर घरलाई उज्यालो अनि सुन्दर सजाइन्छ ।

लक्ष्मीसँगै भगवान् गणेशको पनि स्थापना गरिन्छ । दीयो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरिन्छ । संस्कृतिविद् मान्यता अनुसार सन्ध्याकालदेखि पूजा सुरू गरेर मध्यरातमा घरको नारीले नाङ्लो ठटाएर धनधान्य माता लक्ष्मीको आगमन होस् भनी पूजा गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।
आजकै दिन कन्यालाई लक्ष्मीको प्रतिक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ । लक्ष्मी पूजाको दिनदेखि नै देउँसी भैलो खेल्ने गरिन्छ ।

भैलो खेल्न आउनेलाई धान, चामल, सेलरोटी, पैसा दिने चलन पनि छ ।

भनिन्छ लक्ष्मी पूजाको दिन बत्ती नबालेको घरमा माता लक्ष्मी जाँदैनन् । यस दिनलाई दीपमालिका र सुखरात्री पनि भन्ने गरिन्छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो। चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ।

Related posts

मानव बेचबिखनको जालाे ताेड्न सफल पर्साका एसपी मिश्र सम्मानित

MadhesKhabar

वीरगन्जमा पनि मनाइयाे विश्व क्षयरोग दिवस

MadhesKhabar

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने कलैयाका मेयर साहकाे चेतावनी

MadhesKhabar

Leave a Comment