वीरगन्ज,१वैशाख : आजदेखि विक्रम संवत २०८३ प्रारम्भ भएको छ । वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो ।
सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ।
नयाँ बर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ बर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
आजका दिन बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ बर्षको पहिलो दिन राम्रो सुरुवात भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।
विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।

