Madhes Khabar
समाचार हेडलाइन

वीरगञ्जमा यङ इन्टरप्रेनर्स समिट वुमन भब्यताका साथ सम्पन्न

वीरगन्ज ,चैत्र २७: नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज च्याप्टरको आयोजनामा महिलाहरूका लागि लक्षित “यङ इन्टरप्रेनर्स समिट वुमन (वाईईएसडब्ल्यू २.०)” कार्यक्रम आज वीरगञ्जस्थित होटल भिसुवामा भव्य रूपमा सम्पन्न भएको छ।

एनवाइईएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष बिश्वास प्रताप शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महिला उद्यमशीलता प्रवर्द्धन, नेतृत्व विकास तथा सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा पूर्व सांसद बिना शर्माको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमकी प्रमुख अथिती बिना शर्मा हाल महिलाहरु आफू कमजोर ठानेर बस्नुभन्दा आफ्नो लागि केही गरेर देखाउनु पर्नेमा जोड दिइन् । त्यस्तै कार्यक्रमका अध्यक्ष साहले महिलाहरुले सबै तह तप्कामा झै उधममा पनि अब्बल गर्नुपर्ने मान्यताका साथ आजको कार्यक्रममा सहर देखि ग्रामीण भेगसम्मका ओझेलमा परेका देखि लिएर उधममा सफलता हात पार्दै समाजमा सफल महिला उधमिको रूपमा पहिचान बनाएकाहरुलाई समेटेर कार्यक्रमको आयोजना गरिएको जिकिर गरे ।

कार्यक्रमकी मुख्य वक्ता सन् २००९ की मिस नेपाल तथा हाल जेम्स इन्स्टिच्युटकी निर्देशक जेनिशा मोक्तानले महिलाहरूलाई आत्मविश्वास, निरन्तरता र सकारात्मक सोचको महत्त्वबारे प्रेरणादायी मन्तव्य दिइन्।

उनले “जुन बेला पनि हामी सफलताको बाटोमा लाग्न सक्छौं, एकअर्काबाट सिक्दै अगाडि बढ्नुपर्छ” भन्दै सपना देख्न र त्यसलाई पूरा गर्न निरन्तर प्रयासरत रहन आग्रह गरिन्। साथै, सुरक्षित क्षेत्रभन्दा बाहिर निस्केर आफ्नै क्षमता पहिचान गर्नुपर्ने, अरूको नकारात्मक कुरालाई बेवास्ता गर्दै अघि बढ्नुपर्ने र आत्मसम्मानलाई पहिलो प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन्।

त्यसैगरी, रौनियार एण्ड एसोसिएट्सकी प्रबन्ध निर्देशक तथा नेपाल धितोपत्र बोर्डकी पूर्व निर्देशक सीए प्रियंका रौनियारले व्यवसाय दर्ता, मूल्य अभिवृद्धि कर (भ्याट), अभिलेख तथा हिसाब–किताब व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत जानकारी गराइन्।

उनले धेरै महिला उद्यमीहरू वित्तीय प्रणालीबारे पूर्ण रूपमा जानकार नहुँदा समस्या भोग्नुपरेको उल्लेख गर्दै यस क्षेत्रमा महिलाहरू सचेत र सशक्त बन्न आवश्यक रहेको बताइन्। साथै, वित्तीय ज्ञानको अभावले ठगिने सम्भावना समेत बढ्ने भएकाले समयमै सही प्रक्रिया अपनाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रमकी अर्की वक्ता तथा निलय श्री क्रियेशन प्रा.लि.की निर्देशक सोनाली कर्णले आफ्नो उद्यमशील यात्राबारे प्रेरणादायी अनुभव साझा गरिन्।

उनले कोरोना महामारीको समयमा घरमै बसेर अनलाइन व्यवसाय सुरु गरेको र छोटो समयमै सफलता हासिल गरेको अनुभव सुनाउँदै व्यवसायमा धैर्य, निरन्तरता र सन्तुलित सोच आवश्यक हुने बताइन्। “एकै दिनमा ठूलो फड्को मार्ने सोचभन्दा निरन्तर मेहनतले नै सफलता दिलाउँछ,” उनले भनिन्।समिटमा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा एनवाईएफ एनजिसिकी महिला उपाध्यक्ष रीचा श्रेष्ठ तथा एनवाईएफ एनजिसिकी लर्निङ चेयर बिलाशा श्रेष्ठ, एनवाइईएफका प्रथम उपाध्यक्ष चन्दन सिंह, द्वितीय उपाध्यक्ष मोहित गुप्ता, निवर्तमान अध्यक्ष पंकज अग्रवाल, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, फोर जी आर समूहकी अध्यक्ष नूतन सरावगी तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा “नेपालमै बनेका उत्पादन”हरूको प्रदर्शनी समेत आयोजना गरिएको थियो। साथै, स्टल राख्ने महिला उद्यमीहरूलाई प्रमाणपत्र तथा मायाको चिन्ह प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका महिला उद्यमी, सामाजिक अभियन्ता तथा संघ–संस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश उपाध्यक्ष उर्मिला थापा, नेपाल ब्युटिसियन संघकी अध्यक्ष मन्दिरा राउत, नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्साकी उद्यमी ओम कुमारी शर्मा, उद्यमी स्नेहा अग्रवाल, वुमन क्रिएसनकी आयशा खान, वीरगञ्ज लेडिज सर्कलकी नन्दिनी अग्रवाल तथा मञ्जरी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

“उनले बनाउँछिन्, उनले नेतृत्व गर्छिन्, उनले प्रेरणा दिन्छिन्” भन्ने नारासहित आयोजना गरिएको उक्त समिटले महिला सशक्तिकरण र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

त्यसैक्रममा एनवाईएफ एनजिसिकी महिला उपाध्यक्ष रीचा श्रेष्ठ तथा एनवाईएफ एनजिसिकी लर्निङ चेयर बिलाशा श्रेष्ठले नयाँ महिला सदस्य नेहा अग्रवाललाई एनवाईइएफ बिरगंजमा औपचारिक रूपमा स्वागत तथा सदस्यता प्रदान गरेका हुन् ।

कार्यक्रममा ग्रामीण भेगदेखि शहरसम्मका करिब २०० जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

पत्रकार माधुरी महतोले सन्चालन गरेको कार्यक्रमको समापन एनवाइईएफकी महिला विकास प्रमुख तथा कार्यक्रमकी संयोजक राधा हमालले गरेकी थिइन्। 

Related posts

बाराको कोल्हबीमा बन्दै जिल्लाकै नमूना एंव सुविधासम्पन्न हाटबजार

MadhesKhabar

वीरगन्ज :गरिब परिवारकी दलित युवतीको विहे खर्चका लागि उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

४१ वर्षकाे उमेरमा तेश्राे पटक मन्त्री बनेकी ज्वाला साहलाई कृषि मन्त्रालयकाे जिम्मेवारी

MadhesKhabar

Leave a Comment