वीरगन्ज,२३ पुसःपर्साको ठोरीस्थित एक घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ ।ठोरी गाँउपालिका वडा नम्बर ३ ब्रम्हनगरका छिरिङ दोङको घरमा प्रहरीले छापा मारेर १ सय ५७ किलो ९५० ग्राम गाँजा बरामद गरेको हो । घरधनी दोङ भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हुलाकी सडकदेखि पश्चिमतर्फ जाने कच्ची बाटोको छेउमै रहेको छिरिङ दोङको काठले बनाइएको दुई तल्ले घरमा लागू औषध गाँजा भण्डारण गरेर राखिएको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो ।त्यसपछि मंगलबारराति १० बजेतिर ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले दोङको घरमा पुगेर छापा मारेको थियो । त्यसक्रममा घरको माथिल्लो तल्लाको कोठाभित्र नीलो रङको प्लाष्टिकले बेरेर राखिएको ९५० ग्राम गाजा फेला परेको थियो ।
त्यसपछि घरछेउकै खेतमा उखुको पातले छोपेर राखिएको १० वटा पोकामा रहेको १ सय ५७ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए ।
गाँजा बरामद भएको घरका धनी ४२ वर्षीय छिरिङ दोङ भने फरार रहेको र उनको खोजतलास भइरहेको कार्कीले जानकारी दिए । दोङले लागू औषधका तस्कहरुलाई बिक्री गर्नका लागि उक्त गाँजा आफ्नो घरमा भण्डारण गरेर राखेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको कार्कीले जानकारी दिए ।

