वीरगन्ज,२४कात्तिकःहिन्दूहरूको महान पर्व छठको उपलक्ष्यमा वीरगन्ज कारागारमा रहेका महिला कैदी बन्दीहरुलाई नयाँ साडी वितरण गरिएको छ।ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको समन्वयमा रुँगटा वेलफेयर सोसाइटी वीरगन्जले कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीहरुलाई एक एक थान नयाँ साडीसंगै गहुँको पीठोपनि वितरण गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा भएको साडी तथा पीठो वितरण कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले छठ पर्ब केवल धार्मिक आस्थाको विषय मात्र नभई मानवीय सहयोग र सहानुभूतिको पनि पर्ब भएको बताए । कारागारभित्र रहेका महिला दिदीबहिनीहरूसंग यो पर्वको खुशी बाँड्न पाउनु आँफुहरुका लागि गर्वको कुरा भएको उनले बताए।
रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर गर्दै आएको बताए । उनले रुंगटा वेलफेयर सोसाइटीले सदैव समाजका विपन्न, असहाय र सहयोग आवश्यक व्यक्तिहरूका लागि यस्ता मानवसेवामूलक कार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए।
कार्यक्रममासशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल,वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी लगायतकाको पनि उपस्थिति रहेको थियो।

