वीरगन्ज,११जेष्ठ : वीरगन्जमा आन्दोलनरत नेपाल शिक्षक महासंघले आन्दोलन फिर्ता लिने र विद्यालयहरुमा पठन पाठन सुचारु गर्ने सहमति भएको छ ।
बिहीबार वीरगन्ज महानगरपालिका र नेपाल शिक्षक महासंघ वीरगन्ज महानगर समितिबिच भएको वार्तामा महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर पठन पाठन सुचारु गर्ने सहमति भएको हो ।
वार्तामा महानगरले सरुवा गरेकाे विद्यालयमै शिक्षकहरु हाजीर हुने सहमति भएकाे छ । सहमतिको बुँदा नम्बर ८ मा लेखिएको छ, “बुँदा नम्बर १ र २ मा उल्लेखीत मागहरुको सन्दर्भमा हाल सरुवा भएको ठाउँमा हाजिर हुने र समस्या भएकाको हकमा एक महिनामा निवेदन पर्न आएको आधारमा समस्या समाधान गर्दै जाने” भनीएको छ ।
त्यस्तै सहमतिमा प्रत्येक महिना प्रधानाध्यापकहरुसँग बैठक बस्ने र तोकिएबमोजिमको बैठक भत्ता उपलब्ध गराउने, विद्यालयलाई शान्ती क्षेत्र कायम गर्न आचार संहिता लागु गर्ने, महानगरका शिक्षा सम्बन्धि समितिमा शिक्षक महासंघको प्रतिनिधिलाई सहभागि गराउने, दरबन्दि मिलान गरी नपुग विषयगत शिक्षक र कर्मचारीको व्यवस्थापन गर्ने र शिक्षक कर्मचारीको सरुवा गर्न सुझाव दल गठन गरी सुझाव लिने उल्लेख छ ।
वार्तामा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण र शिक्षा अधिकृत हरि राउत सहभागि थिए भने आन्दोलनरत शिक्षकहरुको तर्फबाट नेपाल शिक्षक महासंघका महानगर अध्यक्ष एवं वार्ता टोली संयोजक विनोद मेहताको नेतृत्वमा नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप जयसवाल, समाजवादी शिक्षक फोरमका अध्यक्ष हरेन्द्र चौरसिया, एकिकृत अखिल नेपाल शिक्षक संघका अध्यक्ष रामेश्वर पटेल र नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव रेयाज आलमको सहभागिता रहेको थियो ।