Madhes Khabar
राजनीति

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि

काठमाडौं, ११ जेष्ठ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका छन् । संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।

चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले पनि भ्रमणको गृहकार्य भइरहेको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको गृहकार्य भइरहेको छ, केही दिनमै औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक हुनेछ,’ उनले भने ।

वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री दाहालको भ्रमण रोकिएको थियो । परराष्ट्रका अधिकारीहरूका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ मा नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । सोही दिन उनलाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । उक्त द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुनेछन् ।

सोही दिन वा जेठ १९ मा प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ । जेठ १९ मै प्रधानमन्त्री दाहाल मुम्बई जाने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौं फर्कनेछन् ।

गृहकार्यका लागि परराष्ट्रमन्त्री साउदले पूर्वपरराष्ट्रमन्त्रीहरू, भारतका लागि पूर्वराजदूत तथा विज्ञहरू र पूर्वपरराष्ट्र सचिवहरूसँग सुझाव लिइसकेका छन् । दुई मुलुकबीचका सीमा समस्या, सन्धि सम्झौता, द्विपक्षीय व्यापार, आपसी सहयोगलगायत विषयमा मुलुकको हितका लागि एजेन्डा तय गर्न पूर्वपरराष्ट्रमन्त्रीहरूबाट बिहीबार र शुक्रबार सुझाव लिइसकेका छन् ।

नेपाल र भारतबीच सम्बन्धनमा उठेका प्रश्नहरूको सम्बोधन गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन ग्रहण गर्नेबारे वार्ता गर्न पनि सुझाव दिएका थिए । साथै, दुई मुलुकबीच सम्बन्ध बलियो बनाउनुपर्नेमा उनीहरूको जोड थियो ।साभार : कान्तिपुर

 

 

Related posts

विदेशी बुहारीलाई तुरुन्तै नागरिकता नदिने बहसले तराईका युवाको बिहे हुनै समस्या: अनिल झा

MadhesKhabar

समर्थन फिर्ता लिएर सरकार छाड्ने एमालेकाे निर्णय

MadhesKhabar

एमाले पर्सामा फेरि भाँडभैलो : जिल्ला कमिटी बिघटन , ५ नेता कारबाहीमा

MadhesKhabar

Leave a Comment